प्रेस चौतारीका पदाधिकारीहरुको लागि तानसेनमा दुई दिने लेखा व्यवस्थापन तालिम सुरु

पाल्पा, प्रेस चौतारी नेपालका पदाधिकारीहरुको लागि दुई दिने लेखा व्यवस्थापन तालिम तानसेनमा सुरु भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका पदाधिकारीहरुको लागि प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजना, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको समन्वय र होटेल पौवाको सहकार्यमा तालिम सुरु भएको हो ।

तालिमको शुभारम्भ गर्दै प्रेश चौतारी नेपालका केन्द्रिय महासचिव हिरामान लामाले संगठन लाई आर्थिक रुपमा पारदर्शी बनाउन, हिसाव किताब चुस्त दुरुस्त राख्न तालिम निकै प्रभावकारी भएको बताउनु भयो । अहिले राजनतिक संघ संगठन देखि तिनका भातृ संघ संगठनमा मौखिक हिसाब किताध भएपनि व्यवस्थित लेखा प्रणाली नभएको अवस्थामा यो तालिमले चौतारीका सबै शाखाहरु लाई नयाँ अभियानमा जोडेको महासचिव लामाले बताउनुभयो । जुन संस्थामा आर्थिक पारदर्शी हुन्छ त्यो संस्था चलायमान गतिशिल र सबैको विश्वासिलो संस्थाको रुपमा परिचित हुने भएकोले प्रेस चौतारी नेपालले पाल्पाको सिको गर्दै देशैभरी यो अभियान संचालन गर्ने बताउनुभयो ।

कार्यक्रममा संगठनमा लुम्बिनी प्रदेशका महासचिव निरु गौतमले संगठनलाई व्यवस्थित, कानुनी रुपमा पारदर्शी बनाउने जिम्मेवारी बढी अध्यक्ष र कोषाध्यक्षको रहेकोले १२ जिल्लाका अध्यक्ष र कोषाध्यक्षलाई लक्षित गरी लेखा व्यबस्थापनको तालिम आयोजना गरिएको बताउनु भयो ।

प्रेस चौतारी पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रम केन्द्रिय सदस्य एवं पाल्पा ईन्चाज मिलन विश्वकर्माको स्वागत र सचिव नारायण न्यौपानेको संचालनमा भएको थियो ।

तालिममा लेखा परिक्षक दिवाकर अर्यालले कार्यालय व्यवस्थापन, नगदी रसिद, गोश्वरा भौचर, बैंक नगदी किताब, बजेट सिट, पेश्की खाता, मास्केवारी खर्चको फाँटवारी, डे बुकको बारेमा प्रशिक्षण दिनु भएको छ । पत्रकार महासंघ पाल्पाका पुर्व सचिव किरण कौशलले स्थानीय र प्रदेश सरकारका विषय वस्तुमा रिपोर्टिङ्ग गर्नुपर्ने विषयवस्तु, डा. राम बहादुर राउतले संस्थाको कोष वृद्धि, आर्थिक प्रतिवेदन तयार विधीको विषयमा प्राध्यापक गुराश आत्रेय, लेखा परिक्षण र बेरुजुका विषयमा लेखा अधिकृत चण्डीराज बस्यालले सहजीकरण गरिरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?