पाल्पा , बुटवल पावर कम्पनी लिमिटेडको आँधिखोला वितरण केन्द्रले विद्युत महशुल दर बृद्धिका लागि गरेको प्रस्ताव प्रति रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले असहमति जनाउनु भएको छ ।
नगर प्रमुख थापाले आईतबार विज्ञप्ति जारी गर्दै विद्युत महशुल दर बृद्धि गर्नका लागि वितरण केन्द्रले विद्युत नियमन आयोगमा प्रस्ताव पेश गरि आवश्यक राय सल्लहाका लागि गरेको सार्वजनिक सुनुवाई औपचारिकतामा मात्रै सिमित रहेको भन्दै प्रस्ताव प्रति असहमति जनाउनु भएको हो । “हाल प्रति युनिट ५.८०७ रुपैयाँ कायम रहेको विद्युत महशुल दरलाई बढाएर प्रति युनिट ११ रुपैयाँ बनाउने उक्त प्रस्ताव प्रति रामपुर नगरपालिकाको पूर्ण असहमति छ” विज्ञप्तिमा भनिएको छ । सम्बन्धित पालिका र सरोकारवालाहरु संग कुनै समन्वय नगरि जनताको ढाड सेक्ने गरि विद्युत महशुल दर बृद्धिको प्रस्ताव प्रति आपत्ति जनाएको छ ।
नगर प्रमुख थापाले आयोगमा प्रस्ताव पेश गरि सरोकारवाला र उपभोक्ताले थाहा नपाइ सार्वजनिक सुनुवाई गरेर बृद्धिको प्रक्रिया अगाडी बढाएको प्रति विज्ञप्ति मार्फत आपत्ति जनाउनु भएको छ । बुटवल पावर कम्पनीले गरेको यो प्रस्ताव र प्रक्रिया आम जनताको हित विपरित रहेकोले उक्त प्रस्तावमा कुनै निर्णय नगर्न सम्बन्धित निकाएको ध्यानाकर्षण समेत गराउनु भएको छ ।
(प्रेस विज्ञप्ति)