एसइइमा पाल्पा बाट चार हजार पाँच सय ४६ जना सहभागी हुने, परीक्षाको तयारी पुरा

इमान सिं राना

पाल्पा, यस वर्षको माध्यमिक शिक्षा परीक्षामा (एसइइ) मा पाल्पा बाट चार हजार पाँच सय ४६ जना विद्यार्थी सहभागी हुने भएका छन् । जसमा २ हजार २ सय ८९ छात्र र २ हजार २ सय ५७ रहेका छन् ।

उनीहरु मध्ये छात्र १२४, छात्रा ११५ गरी प्राविधिक धारतर्फ २ सय ३९ जना छन् । त्यस्तै ग्रेडवृद्धि तर्फ छात्र ३९, छात्रा ७५ जना गरी १ सय १४ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ ।
चैत्र १७ गते शुक्रबार विहान ८ बजे बाट सुरु हुने परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । “परीक्षा मर्यादित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक तयारी सम्पन्न भैसकेको छ ।” सुवेदीले भन्नुभयो । उहाँका अनुसार जिल्लाभरका २७ परीक्षा केन्द्र बाट १ सय ३७ विद्यालयका विद्यार्थीले परीक्षा दिनेछन् । जसमा ११ प्राविधिक धार सहित १ सय १७ सामुदायिक विद्यालय र २० वटा संस्थागत विद्यालय रहेका छन् ।

परीक्षालाई मर्यादित बनाउन २७ जना केन्द्राध्यक्ष, ३१ ज्ना सहायक केन्द्राध्यक्ष, २ सय २६ निरिक्षक, ४६ सहायक कर्मचारी , ९१ विद्यालय सहयोगी, १ सय ३५ सुरक्षाकर्मी खटिने छन् । परीक्षा केन्द्रको लागि आवश्यक जनशक्ति खटनपटन संगै केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण प्रदानको कार्य सकिएको छ । परीक्षालाई मर्यादित बनाउन ३५ बुँदे अचारसंहिता जारी गर्नुका साथै निरिक्षण तथा समन्यवको लागि स्थानीय तहलाई अनुरोध गरिएको सुवेदीले बताउनुभयो । यस वर्ष जिल्लाका २७ वटै परीक्षा केन्द्रमा प्राथमिक उपचार कक्ष रहने र विद्यार्थीहरुको लागि तातो, चिसो पानीको प्रबन्ध मिलाईएको जानकारी दिनुभयो ।

परीक्षामा जिल्ला कारागार बाट २ जना र दृष्टिविहिन २ जना परीक्षार्थीले पनि सहभागिता जनाउँदैछन् । दृष्टि विहिन विद्यार्थीलाई आफ्नै विद्यालय दमकदा मावि बाट र कारागारका विद्यार्थीलाई कारागार मै परीक्षा दिने प्रवन्ध मिलाईएको छ । परीक्षा केन्द्रहरु मध्ये सबैभन्दा बढी विद्यार्थी दरैठाटी मावि परीक्षा केन्द्र रामपुर बाट २ सय ८६ जना र सबैभन्दा कम विद्यार्थी दर्लमडाँडा मावि परीक्षा केन्द्र बाट ६८ जना रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?