रामघाटमा त्रिदेव मन्दिर र जेष्ठ नागरिक स्याहार केन्द्रको भवन शिलन्यास

पाल्पा, रामपुर नगरपालिका वडा नं. ५ रामघाटमा विहिबार एकै दिन त्रिदेव मन्दिर र जेष्ठ नागरिक स्याहार केन्द्रको भवन शिलन्यास गरिएको छ । रामनवमीको अवसरमा कालीगण्डकी तटमा रहेको लक्ष्मीनारायण गुठी बाट सञ्चालनमा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा मन्दिर तथा भवन शिलन्यास गरिएको हो ।

लक्ष्मीनारायण गुठी सञ्चालक संस्था रामपुर पाल्पाका अध्यक्ष बुद्धि प्रकाश रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । भवनको शिलन्यास गर्दै प्रमुख अतिथी श्रेष्ठले रामपुर पौराणिक, धार्मिक तथा पर्यटनको सम्भावना युक्त स्थान रहेको बताउँदै भगवान राम र सीता संग जोडिएका तपोभुमिलाई एकिकृत विकासको माध्यम बाट जोड्न सके याहाँको विकासमा महत्वपूर्ण टेवा मिल्ने बताउनुभयो । उहाँले रामघाट, सीताकुण्ड, राम्चे, राम चुल्हो, राम कुवा लगाएतका स्थानको संरक्षण प्रवद्र्धन संगै प्रचारप्रसारगर्न सकेमा धार्मिक पर्यटन भित्रयाउन सकिने बताउनुभयो । पुराना संरक्षचना संगै निर्माण भएका नयाँ पूर्वाधारणको व्यवस्थापन र संरक्षणमा सबैको ध्यान पुग्नु आवश्यक रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले रामघाट तथा भगवान राम संग जोडिएका स्थानको प्रचारप्रसार र महत्वको बारेमा बुझाउन आवश्यक रहेको बताउँदै संरक्षण र सम्बद्र्धनका लागि नगरले विशेष महत्वका साथ हेरेको बताउनुभयो । कालीगण्डकी तटमा रहेका धार्मिक स्थलहरुको महत्व उजागर गर्नका लागि पैदल मार्गका लागि पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले धार्मिक क्षेत्रको विकास गर्न सके नगरपालिकालाई धार्मिक क्षेत्रको रुपमा पहिचान दिन सकिने बताउनुभयो ।

लक्ष्मीनारायण गुठी सञ्चालन संस्था रामपुर पाल्पाका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले रामघाटको एकिकृत विकासको लागि २०७४ सालमा गुरुयोजना निर्माण गरी सोही अनुसारका काम अघि बढिरहेको बताउनुभयो । उहाँले संघिय सरकार बाट प्राप्त २५ लाख बजेट बाट त्रिदेव मन्दिर र ५० लाख बजेट बाट जेष्ठ नागरिक स्याहार केन्द्रको भवन निर्माण हुन लागेको बताउनुभयो । त्रिदेव मन्दिरको भुँई तलामा ३० वटा ऋषिमुनी र ३० वटा पितृहरुको शालिक निर्माण गरिने तथा पहिलो तलामा दशावतार भगवान र पाण्डवहरुको मूर्ति राखिने जानकारी दिनुभयो ।

रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका सचिव मिनराज रेग्मीले गर्नु भएको हो । नवमीको अवसरमा लक्ष्मी नारायण मन्दिरमा विहानै देखि कालीगण्डकी नदीमा स्नान गरी पुजापाठको लागि पुग्ने भक्तजनहरुको घुईचो लागेको थियो । साथै कार्यक्रममा लाख बत्ती बालेर भजनकृतन पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?