पाल्पा, निर्माण सुरु भएको ७ वर्ष पछि रामपुर अस्पतालको नव निर्मित भवन बुधबार अस्पताललाई हस्तान्तरण गरिएको छ । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले सरोकारवालाहरुको उपस्थितिमा रामपुर अस्पताल विकास समितिलाई हस्तान्तरण गरेको हो ।
संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका निमित्त आयोजना प्रमुख सुशिल रसायलीले रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकाल (रमेश)लाई भवन हस्तान्तरणको प्रमाण पत्र प्रदान गर्नु भएको थियो । भवन हस्तान्तरण कार्यक्रमको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले यस अघि भवन अभावमा सेवा दिन समस्या भए पनि अब भवन तयार भएकाले जनताको गुनासो नरहने गरि काम गर्नु पर्ने बताउनुभयो । ५० शैयाको अस्पताल रामपुरको विकासको लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले रामपुर अस्पताल पालिका स्तरमा निर्माण भएका अन्य अस्पतालको अभिभावकत्व ग्रहण गर्ने र विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा स्थापित हुनु आवश्यक रहेको बताउनुभयो । श्रेष्ठले प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पताल लुम्बिनी प्रदेशको नजरमा रहेको बताउँदै अस्पतालको सेवा विस्तार र दिगोपनको लागि आफु लागि रहेको बताउनुभयो । साथै उहाँले अस्पताललाई ट्रमा सेन्टरको रुपमा अघि बढाउन तर्फ सरोकारवालाहरुले ध्यान दिने समय आएको छ भन्नुभयो ।
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले पूर्वाधार निर्माण त भयो अब स्तरिय सेवा कसरी दिने भन्ने तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो । थापाले रामपुर अस्पताल रामपुर नगर मात्र नभै गण्डकी बेशी क्षेत्रका जनताको लागि प्रत्यक्ष भुमिका खेल्ने अस्पताल रहेको भन्दै नगरपालिका बाट अस्पतालको व्यवस्थापन र सञ्चालनका लागि पूर्ण साथ र सहयोग रहने बताउनुभयो । अस्पतालका निमित्त सुपरिटेडेण्ट डाक्टर विजय परियारले ५० शैयामा स्तर वृद्धि भए पनि भवन निर्माण नहुँदा प्राथमिक सेवा केन्द्रको संरचनामा सेवा प्रदान गर्दै आएकोमा अब सेवा प्रवाहमा थप सहज हुने बताउनुभयो । नयाँ भवन बाट बहुविशेषज्ञ सेवा दिने लक्ष्य सहित अघि बढेको बताउँदै हिजोको दिनमा भन्दा फरक ढंगले सेवा प्रवाह गर्ने जानकारी दिनुभयो ।
नेपाली कांग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराईले रामपुर अस्पतालको स्तरोन्नति संगै भवन निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएका पूर्व सचिव स्वर्गीय शान्ता बहादुर श्रेष्ठको योगदानको स्मरण गर्दै पूर्वाधार संगै स्तरीय सेवामा ध्यान दिन आग्रह गर्नुभयो । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका निमित्त आयोजना प्रमुख सुशिल रसायलीले प्रमाण पत्र प्रदान गर्दै चारवटा ब्लकमा निर्माण भएको भवनमा तयार भएका पूर्वाधारका बारेमा जानकारी गराउनु भएको थियो । निर्माण कम्पनी रबिना कन्ट्रक्सन प्रा.लि.का इन्जिनियर रिचय श्रेष्ठले भवन निर्माणमा साथ दिने सम्पूर्णलाई धन्यवाद दिनुभयो । रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकाल (रमेश)ले अस्पतालका लागि आवश्यक पूर्वाधार तयार भएकाले अब कुन स्वरुपमा अघि बढाउने भन्ने विषयमा रामपुर क्षेत्रका सरोकारवालाहरु लक्ष्यमा स्पष्ट हुनु पर्ने बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर अस्पतालका प्रशासन सहायक हिरा वि.क.को स्वागत र संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका प्रशासन प्रमुख नवीन पन्थीको सञ्चालनमा भएको हो । अस्पतालको भवन २०७२ साल कार्तिक १७ गते रबिना कन्ट्रक्सन प्रा.लि. काठमाडौंले सम्झौता गरि निर्माण थालेको थियो । १७ सय वर्ग मिटरमा फैलिएर तयार भएको अस्पतालको भवन सहितको संरचना भ्याट बाहेक २० करोड २ लाख ८२ हजार ९ सय ८६ रुपैयाँ ७७ पैसाको लागतमा तयार भएको हो ।