रामपुर नगरपालिकाद्धारा मेलमिलाप केन्द्रको अनुगमन तथा छलफल

पाल्पा , रामपुर नगरपालिका अन्तर्गत न्यायीक समितिले नगर भित्रका वडामा रहेका मेलमिलाप केन्द्रको अनुगमनलाई निरन्तरता दिएको छ । जस अन्तर्गत बुधबार रामपुर नगरपालिका वडा नं. १० गेझामा रहेको मेलमिलाप केन्द्रको अनुगमन गरेको छ ।

रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायीक समिति संयोजक बाल कुमारी थापाले नगर भित्र सुचिकृत भएका मेलमिलापकर्तालाई सक्रियताका साथ परिचालन गर्न हरेक वडामा छलफल तथा अनुगमन गरिएको बताउनुभयो । वडामा रहेका मेलमिलापकर्ताले मुद्दा माथि छलफल गरी न्यायोचित तरिकाले मेलमिलाप गर्न आग्रह गर्नु भएको छ । वडामा आएका हरेक मुद्दा नगरपालिकामा दर्ता गरेर मात्र छलफल गर्नु पर्ने बताउनुभयो ।

यस्तै वडा नं. १० का अध्यक्ष तोयानाथ सारु थापाले दुवै पक्षको जित हुने गरी हरेक मुद्दालाई चाँडो निरुपण गर्नु पर्ने बताउनु भएको छ । शान्त समाज निर्माणका लागि न्यायीक समितिको महत्वपूर्ण भूमिका हुने भएकाले हरेक मुद्दा र विवादलाई चाँडो मेलमिलाप मार्फत समाधान गर्न पर्ने बताउनुभयो । वडा कार्यालयमा भएको कार्यक्रममा मेलमिलापकर्ता विष्णु प्रसाद भण्डारीले आफुले छलफलको माध्यमबाट धेरै मुद्दाको टुंगो लगाएको भन्दै आगामी दिनमा पनि सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अनुगमन तथा छलफल कार्यक्रममा वडामा आउने मुद्दा र समाधानका विषयमा छलफल भएको थियो । रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायीक समिति संयोजक बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गर्नु भएको थियो । अनुगमन पश्चात मेलमिलाप केन्द्रका लागि आवश्यक सहायता सामग्री हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?