राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धि अभिमुखिकरण तथा कार्यशाला रामपुरमा सम्पन्न

 

पाल्पा , राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धि अभिमुखिकरण तथा कार्यशाला शुक्रबार रामपुर नगरपालिकामा सम्पन्न भएको छ ।

रामपुर नगरपालिकाको आयोजना , प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेशको वित्तीय सहयोग र अलाना ईन्टरनेशनल सर्भिसेज प्रा.लि. काठमाण्डौको प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा नगर भित्रको आन्तरिक राजस्व कसरी बृद्धि गर्न सकिन्छ , कुन कुन क्षेत्रबाट कसरी राजस्व संकलन गर्ने , स्थानीय सरकारको वित्तीय स्रोत , करको दायरा नगरपालिकाको आन्तरिक स्रोत बृद्धिका लागि स्रोतको पहिचान र राजस्व सम्बन्धि छलफल भएको छ । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाले अपेक्षा गरे अनुसारको आन्तरिक आम्दानी गर्न नसक्दा योजना तथा विकास निर्माणमा बाधा पुगेको बताउनुभयो । उहाँले नदिजन्य पदार्थ उत्खनन् गर्न नपाएकाले पनि राजस्व कम आएकोे र आन्तरिक आम्दानी कमजोर अवस्थामा पुगेको उल्लेख गर्नुभयो । नगरपालिकामा आवश्यक निति र कार्यविधि नबन्दा अन्य स्रोतबाट राजस्व संकलन गर्न नसकिएको भन्दै नगर प्रमुख थापाले आगामी दिनमा प्रक्रियागत ढंगबाट करको दायरा बढाउने र आन्तरिक आम्दानीमा बृद्धि गरिने बताउनु भएको छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख तथा राजस्व परामर्श समितिका संयोजक बाल कुमारी थापाले लक्ष्य अनुसारको राजस्व नउठेको भन्दै यसका लागि सवै सरोकारवालाहरुको परामर्शमा करको दायरा बढाउन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले जति करको दायरा बढ्छ त्यती नै नगरपालिकाको आन्तरिक आम्दानी बढ्ने र आवश्यक योजना संचालन गरि विकासले गति लिने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले दिगो विकासका लागि आन्तरिक आम्दानी नभई नहुने स्रोत भएको भन्दै ऐन नियम र कार्यविधि बनाएर राजस्व संकलन गर्नु पर्ने बताउनुभयो । संघबाट आउने अनुदानले मात्र स्थानिय तहको योजना संचालन र विकास सम्भव नभएको भन्दै आन्तरिक स्रोतको पहिचान गरि राजस्व संकलन गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अलाना ईन्टरनेशनल सर्भिसेज प्रा.लि. काठमाण्डौका कार्यक्रम निर्देशक तथा सहजकर्ता विके महर्जनले स्थानिय तहले आफ्नो संचालन खर्च आफ्नै खर्चले धान्न सक्ने हुनु पर्ने बताउनुभयो । साथै रामपुर नगरपालिकामा आन्तरिक आय बृद्धिका लागि स्रोतको पहिचान गरि कार्यान्वयन गर्न आग्रह गर्नुभयो । यस्तै सहजकर्ता माण्डुबाबु अधिकारीले स्थानीय तहले राजस्वलाई आधार मानेर योजना तय गर्नु पर्ने बताउनुभयो । उहाँले सरकारले चाहे नागरिकबाट कर उठाउन सक्ने भन्दै प्रविधिको प्रयोग गरि कर तिर्न सहज गर्नु पर्ने बताउनु भएको छ । रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले न्यायोचित र समतमूलक ढंगले करको दायरा निर्धारण हुन आवश्यक रहेको भन्दै कर तिर्ने उचित वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । साथै आन्तरिक राजस्व बृद्धिका लागि बनाईएका निति तथा कार्यविधिको सहि कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

कार्यशालामा आन्तरिक राजस्व प्रतिको बुझाई , आम्दानी कम हुनुको कारण , स्थानीय तहको वित्तीय स्रोत , राजस्व लक्ष्य र परिचालनको अवस्था लगाएतका विषयमा सहजकर्ता विके महर्जन र माण्डुबाबु अधिकारीले सहजिकरण गर्नु भएको थियो । कार्यशालामा नगरपालिका भित्रका वडा अध्यक्ष , जनप्रतिनिधि , उद्योगी व्यवसायी , कर्मचारी , पत्रकार लगाएतको सहभागिता रहेको थियो । रामपुर नगरपालिकाका उपप्रमुख तथा राजश्व परामर्श समितिका संयोजक बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यशाला नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?