निस्दी गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

धनबहादुर ठाडा

पाल्पा, निस्दी गाउँपालिका पाल्पाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको बहुउद्देश्यीय भवन मित्यालमा आइतबार सार्वजनिक सुनुवाई भएको हो।

गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । उहाँले निस्दीमा हालसम्म वित्तीय तर्फ ३० दशमलव ८२ प्रतिशत र भौतिक तर्फ ५१ प्रतिशत खर्च प्रगति भएको जानकारी दिनुभयो ।हालसम्म २ सय ४९ वटा योजनाको सम्झौता भएको र ६४ वटा योजनाको फरफारक भएको बताउनुभयो । निस्दीले विगत एक वर्षदेखि बन्द रहेको २५ किलोवाट क्षमताको वायु उर्जा सञ्चालनमा ल्याइएको, एकीकृत घुम्ती सेवा सञ्चालन र स्वास्थ शिविर सञ्चालन गरेको दयालले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७३ जनालाई रोजगारमुलक आयोजनामा संलग्न गराइएको, सात वटै वडा जोडिने गरी केम खाम्चा मार्गको ग्राभेल तथा स्तरउन्नतिका लागि प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनको लागि विशेष योजना अगाडि बढाउनुका साथै १५ सैया हस्पिटलको पर्खाल निर्माण र दोस्रो ढलानको काम भइरहेको उहाँले बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले निस्दीमा बालविवाहको समस्या, शैक्षिक गुणस्तर, पर्यटन प्रबर्द्धन, बिजुली, यातायात, खानेपानीसँग सम्बन्धित जिज्ञासा राखेका थिए । यसैबीच सार्वजनिक सवारीसाधनको भाडादर समायोजन हुनुपर्ने, स्थानीय उत्पादनको बजारीकरण तथा प्रोत्साहन, सहकारीको अनुगमन तथा व्यवस्थापन हुनुपर्ने जिज्ञासा तथा सुझाव राखेका थिए ।

गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले जिज्ञासा तथा सुझाव दिनुहुने सबैलाई धन्यवाद दिनुहुँदै पालिकाले परिमाणमुखी भन्दा परिणाम आउने खालको काम गरिने बताउनुभयो । अध्यक्ष सारुले आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसाय मुलक र उत्पादनमुखी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, नेकपा एमालेका दमन सिंह थापा, नेपाली कांग्रेसका पूर्ण बहादुर खाँण लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सहभागीले उठाएका जिज्ञासाको जवाफ विभिन्न विषयगत शाखा संयोजक, प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिका अध्यक्षले दिनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार माधव अर्याल र दयाराज न्यौपानेले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?