१३ औं स्काउट फ्रेण्डसिप क्याम्प रामपुरमा सुरु

रामपुर, रामपुरमा नेपाल स्काउटको क्याम्प सुरु भएको छ । १३ औं स्काउट फ्रेण्डसिप क्यम्प नेपाल स्काउट जितापुर क्रु को आयोजना, रामपुर स्काउट ट्रुप र रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयको सहयोगमा सुरु भएको हो ।

   झण्डोत्तलन गरी क्याम्पको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख एवं रामपुर स्काउट ट्रुपका संरक्षक रमण बहादुर थापाले स्काउटले विपद् व्यवस्थापन संगै विद्यार्थीहरुलाई अनुसाशित र राष्ट्र प्रति समर्पित हुन उत्प्रेरणा दिएको बताउनुभयो । कार्यक्रमले विद्यार्थीको सर्वाङ्गिण विकासमा टेवा पुग्ने बताउँदै स्काउट निस्वार्थ भावका साथ समाज र देशलाई अप्ठ्यारो परेको समयमा सेवा गर्ने जनशक्ति तयार गर्ने बताउनुभयो । थापाले पाठ्यक्रमको ज्ञान संगै स्काउटले नैतिक शिक्षा प्रदान गरिरहेको बताउँदै निरन्तर रूपमा स्काउटका गतिविधि अगाडि बढाउन अनुरोध गर्नुभयो । ईलाका प्रसाशन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले स्काउटले विपद्को सहयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै नैतिकवान र देश भक्त नागरिक तयारगर्न स्काउटले सहयोग गर्ने बताउनुभयो ।

रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद रेग्मीले विद्यालयले स्काउट सम्बन्धि विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुहुँदै स्काउटले रामपुरमा राम्रो प्रभाव बनाउँदै गएको बताउनुभयो । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका राष्ट्रिय प्रशिक्षक सत्य नारायण शाहीले दुई रात ३ दिनको क्याम्पमा साहसिक गतिविधि, साधारण गतिविधि तथा विपद् व्यवस्थापन लगाएतका तालिम प्रदान गरिने जानकारी दिनुभयो । रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक सुर्यप्रसाद घिमिरेले स्काउटका गतिविधिले विद्यार्थीहरुलाई लगनशिल र अनुसाशित बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

रामपुर स्काउट ट्रुपका सदस्य गणेश भारतीले स्काउट कार्यक्रम अति आवश्यक रहेको र यस कार्यक्रमबाट विद्यार्थीले धेरै कुरा सिक्ने अवसर पाउने बताउनुभएको थियो । क्याम्प अन्तर्गतका गतिविधि रामपुर आवासिय माध्यमिक विद्यालयको प्राङ्गण र रामपुर नगरपालिका वडा नं. ३ को सानीअमराई खेल मैदानमा हुने रामपुर स्काउट ट्रुपका संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो । क्याम्पमा रामपुर आवासियका ७१ जना विद्यार्थी, ललितपुरको अस्मिता बोर्डिङ्ग स्कुल, ल्यान्डमार्क बोर्डिङ्ग स्कुल, अत्रल बोर्डिङ्ग स्कुल बाट ३० जना विद्यार्थी सहभागी रहेका छन् । रामपुर आवासिय विद्यालयमा स्काउटमा कक्षामा कक्षा ६ देखि ११ कक्षासम्मका विद्यार्थी सहभागी छन् ।

क्याम्पमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाही, सहायक प्रशिक्षक रोजिना शाहि, क्याम्प संयोजक साईन थापा मगर, क्रियाकलाप संयोजक रिकेश नगरकोटी, ईन्चार्ज शिशिर तामाङ, आयुषा थापा, शशी खड्का, निहारिका डंगोल, प्रेम शाक्य, सुविना नगरकोटी, आशिफ थापा, राहुल शाहले को सहजिकरण गरिरहनुभएको छ । स्काउटिङ विकासको लागि वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा यस सम्बन्धि कार्यक्रम भईरहेको छ । रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक सुर्यप्रसाद घिमिरेको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रम स्काउटका विद्यार्थी अनिशा भट्टराईको स्वागत र रामपुर स्काउट ट्रुपका सदस्य अनिल सुनारले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?