रामपुरमा स्काउटको ३ दिने क्याम्प सम्पन्न

पाल्पा, पाल्पाको रामपुरमा नेपाल स्काउटको ३ दिने क्याम्प सकिएको छ । १३ औं स्काउट फ्रेण्डसिप क्यम्प नेपाल स्काउट जितापुर क्रु को आयोजना, रामपुर स्काउट ट्रुप र रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयको सहयोगमा गत सोमबार देखि सुरु भएको थियो ।

क्याम्पको बुधबार एक कार्यक्रमका विच समापन गरिएको हो । रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी थापाले स्काउट बालबालिकालाई मार्ग निर्देशन गर्ने संस्था रहेको हुँदा यस्ता खालका कार्यक्रमले विद्यार्थीले नैतिक शिक्षा संगै व्यवहारिक ज्ञान सिक्ने अवसर प्राप्त गर्ने बताउनुभएको थियो । विद्यार्थीलाई किताबी ज्ञानले मात्रै नभई यसका अलवा बाहिरी ज्ञान सीप सिक्नु अति आवश्यक रहेको हुदा रामपुर अङ्ग्रेजी आवासिय माविले गरेको यस कार्यक्रम प्रशंसनीय रहेकोे बताउनुहुदै कार्यक्रमलाई आगामि दिनमा रामपुर नगरपालिकाले सहयोग गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले स्काउट समुहले रामपुरमा आएर जोखिम, विपद व्यवस्थापन सम्बन्धि धेरै कुरा सिकाएको बताउनुभयो । विद्यालयका व्यवस्थापकिय निर्देशक सुर्यप्रसाद घिमिरेले विद्यार्थीले अति उत्सुकतापुर्वक सहभागी भएको बताउनु हुँदै यस्ता तालिम अति आवश्यक रहेको बताउनुभयो । नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाहीले तीन दिनको समयमा विद्यार्थीले धेरै ज्ञान सीप हासिल गरेको बताउनुभयो । पत्रकार सुशीला रेग्मीले यस्ता खालका कार्यक्रमले रामपुरको सकारात्मक सन्देश बाहिर जाने र यसले विद्यार्थीले धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभएको थियो ।

दुई रात ३ दिनको क्याम्पमा साहसिक गतिविधि, साधारण गतिविधि तथा विपद् व्यवस्थापन लगाएतका तालिम प्रदान गरिएको थियो । क्याम्प अन्तर्गतका गतिविधि रामपुर आवासिय माध्यमिक विद्यालयको प्राङ्गण र रामपुर नगरपालिका वडा नं. ३ को सानीअमराई खेल मैदानमा भएको थियो । क्याम्पमा रामपुर आवासियका ७१ जना विद्यार्थी, ललितपुरको अस्मिता बोर्डिङ्ग स्कुल, ल्यान्डमार्क बोर्डिङ्ग स्कुल, अत्रल बोर्डिङ्ग स्कुल बाट ३० जना विद्यार्थी सहभागी भएका थिए । तालिमको सहजिकरण नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाही,सहायक प्रशिक्षक रोजिना शाहि, क्याम्प संयोजक साईन थापा मगर, क्रियाकलाप संयोजक रिकेश नगरकोटि, ईन्चार्ज शिशिर तामाङ, आयुषा थापा, शशी खड्का, निहारिका डंगोल, प्रेम शाक्य, सुविना नगरकोटि, आशिफ थापा, राहुल शाहले गर्नुभएको हो । रामपुर अङ्ग्रेजी आवासिय माविमा भएको समापन कार्यक्रम रामपुर स्काउट ट्रुपका संयोजक सागर श्रेष्ठको स्वागत र सदस्य अनिल सुनारको सञ्चालनमा भएको थियोे । रामपुर अङ्ग्रेजी आवासिय मावि कक्षा ११ का विद्यार्थी सन्ध्या मल्ल र ललितपुरबाट आउनु भएका विद्यार्थी सालिम महर्जनले तीन दिनको अवधिमा धेरै कुरा सिकेको अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रमाणपत्र र प्रशिक्षकलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?