रामपुरमा तालपोखरा विशेष उत्सव विविध सांस्कृतिक कार्यक्रम सुरु

पाल्पा, सय पर्यटकिय गन्तव्यमा पर्न सफल रामपुर नगरपालिका–६ स्थित तालपोखरामा शुक्रबार देखि तालपोखरा विशेष उत्सव विविध सांस्कृतिक कार्यक्रम सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ वर्ष २०८०को अवसरमा २ दिने कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रमको शुक्रबार एक कार्यक्रमका विच लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उट्घाटन गर्नु भएको हो । उहाँले रामपुर क्षेत्रको पर्यटन विकास तथा पहिचानका लागि तालपोखराले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले तालपोखरा संगै नगर भित्रका पर्यटकिय स्थलहरुको उचित व्यवस्थापन गरी प्रचार प्रसार गर्नसके रामपुरमा पर्यटकीय आकर्षण थप बढ्ने बताउनुभयो । प्रदेश मार्फत पर्यटन पूर्वाधार निर्माणमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

रामपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता कपिल बहादुर खाँणले तालपोखरा नगर कै गहनाको रुपमा रहेको भन्दै उत्थानका लागि नगरपालिका प्रतिवद्ध भएर लागेको बताउनुभयो । उहाँले रामपुर नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।                                              तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाका अनुसार पर्यटन प्रवद्र्धन संगै व्यवस्थापनका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले नयाँ वर्ष विषेश कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा स्वागत गर्दै तालपोखरा संरक्षण समितिका उपाध्यक्ष मित्रा ढकालले विगतका वर्षहरुमा शिवरात्रीको अवसरमा कार्यक्रम हुँदै आए पनि यस वर्ष रामपुर महोत्सव भएकाले नयाँ वर्षको अवसरमा कार्यक्रम गरिएको बताउनुभयो । तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिका सदस्य जनक भण्डारी र गायिका मञ्जु पौडेलले गर्नु भएको हो ।

२ दिन सम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक बद्री पंगेनी, बसन्त थापा, राजन कार्की, अर्जुन सापकोटा, गायिका मञ्जु पौडेल, कला लम्साल, तुलसा जिसी सहित नृत्यकार वर्षा क्षेत्रि र सृष्टि विश्वकर्माको प्रस्तुति रहने छ । शुक्रबार लोक तथा दोहोरी गायिका मञ्जु पौडेल, कला लम्साल, गायक कृष्ण सुवेदी, नृत्यकार वर्षा क्षेत्री र गायक संकल्प लामिछानेको प्रस्तुति रहेको थियो । अन्य बाँकी कलाकारको प्रस्तुति शनिबार हुनेछ । नयाँ वर्षको अवसरमा हजारौं दर्शकहरु घुम्न तथा कार्यक्रमा रम्न तालपोखरा पुगेका थिए ।

तालपोखरामा डुङ्गा सयर गर्ने तथा पार्कमा रमाउने पुग्नेहरुको घुँईचो लागेको थियो । कार्यक्रमलाई लक्ष्यित गरी तालपोखरा संरक्षण समितिले काठ र फाईवर बाट बनेको ५ वटा डुङ्गा सञ्चालन गरेको थियो । साथै कार्यक्रमलाई लक्ष्यित गरी २ वटा ¥याफ्टीङ्ग बोट थप गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?