मसानेघाटको पुल उट्घाटन, राजनीतिक परिवर्तन पछि उपलब्धी प्राप्त गर्न केही समय लाग्ने मुख्यमन्त्री गिरीको भनाई

पाल्पा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजनीतिक परिवर्तन पछि धेरै उपलब्धी प्राप्त गर्नका लागि केही समय लाग्ने बताउनु भएको छ । संघियता कार्यान्वयनमा आए संगै पछिल्लो समय संघियता बोझ भयो भन्ने विषय उठ्दै आएकोमा उहाँले एक दशक, दुई दशक, ढाई, तिन दशक सम्म पुग्दा विकासका उपलब्धीहरु धेरै प्राप्त गर्न सकिने बताउनुभयो ।

रामपुर–सहलकोट–झ्यालबास सडक अन्तर्गत पाल्पाको रामपुर नगरपालिका १ र ३ लाई जोड्ने निस्दीखोला मसानेघाटको पुल मंगलबार उट्घाटन गर्दै गिरीले राजनैतिक परिवर्तन पछिका उपलब्धी ५/६ वर्षमा तुरुन्तै परिणाम नआउने बताउनु भयो । उहाँले भन्नुभयो, “संविधानमा किटान भएका कतिपय अधिकारहरुको बाँडफाँडमा अझै ढिला सुस्ती भएको र प्रदेशको कामलाई कतै कतै सुस्त देखाउन खोजिएको सन्दर्भमा कहि कतै संघियता आवश्यक छैन कि ? बोझ भयो कि ? भन्ने खालका प्रचार पनि सुनिएका छन् । राजनितिक परिवर्तन पछि धेरै उपलब्धी प्राप्त गर्नका लागि केही समय लाग्छ । यो ५ वर्ष ६ वर्षमा तुरुन्तै परिणाम आउने वाला छैन ।”– “मलाई लाग्छ एक दशक, दुई दशक, ढाई तिन दशक सम्म पुग्दा खेरी हामीले महत्वपूर्ण विकासका धेरै उपलब्धीहरु प्राप्त गरेर जनताका जीवन स्तरलाई माथि उठाउन प्रदेशले महत्वपूर्ण आफ्नो भुमिका जनताको विचमा स्पष्ट पार्नेछ ।”

प्रदेशका गौरवका आयोजनालाई सम्पन्न गर्दै प्रदेशका नागरिकहरुको जीवनस्तर माथि उठाउन कृषि, पर्यटन, उद्योगमा क्रान्तिकारी परिवर्तनका साथ अघि बढ्न ठोस योजना सहित प्रदेश सरकार अघि बढेको बताउनुभयो । याहाँका स्थानीयले उत्पादन गरेका सामाग्री तथा व्यापारिक सामाग्री ओसारपसार गर्न सहज हुने बताउनुभयो । उहाँले लुम्बिनीलाई कर्णाली प्रदेश संग जोड्ने रामपुर–कपुरकोट सडकलाई तिव्रता दिने योजना बनाएको जानकारी दिनुभयो । पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले पोखरा–रामपुर–सहलकोट–झ्यालबास सडकको गम्भारी खोला र निस्दी खोलाको ओइरेघाटमा पुल निर्माणको लागि प्रक्रिया अघि बढेको जानकारी दिदै पाल्पाको पछाडी परेको पूवी क्षेत्रमा संघ र प्रदेश सरकारले जोड दिनु पर्ने बताउनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रणनैतिक सडकको रुपमा रामपुर खोप्टार देखि रातोढिक– पन्थे–सहलकोट–झ्यालबास सडक स्तरोन्नतिका लागि प्रक्रियामा अघि बढेको र अधुरो योजनाको काम पूरा गर्नु आवश्यक रहेको बताउनुभयो ।

 

लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव राजेन्द्र थापाले विकासमा जनता र जनप्रतिनिधिको साथ भयो भने समय मै योजना सम्पन्न गर्न सकिन्छ भन्ने यस पुल निर्माणले प्रमाणित गरेको बताउनुभयो । उहाँले रामपुर कपुरकोट सडकको विभिन्न खण्डमा यस वर्ष काम हुन गैरहेको जानकारी दिनुभयो । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनयर अमृत श्रेष्ठले प्रदेश गुरुयोजना बनाएर यातायातको मन्त्रालय अघि बढ्ने प्रयास गरिरहेको जानकारी दिनुभयो । उहाँले पुल निर्माण संगै संरक्षण र निगरानीमा स्थानीयको सहयोगको आवश्यकता रहने बताउनुभयो ।

सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले ७० दशमलव ९ मिटर लम्बाई भएको दुई लेनको पुलमा भ्याट सहित ७ करोड ७३ लाख ६ हजार ७ सय ७१ रुपैयाँ लागतमा सम्पन्न भएको जानकारी दिनुभयो । दुई स्पान सहितको पुल इलाईट कन्ट्रक्सन काठमाडौले २०७६ फागुन ११ गते ८ करोड १२ लाख २५ हजार ६ सय ४३ मा सम्झौता गरी सोही वर्ष चैत्र १६ गते शिलन्यास गरेर निर्माण थालेको थियो । निर्माण व्यवसायी शिव श्रेष्ठले कार्यालयले गर्ने डिजाईन र फिल्डको वास्तविकता फरकहुँदा कतिपय निर्माणमा समस्या भए पनि यो पुल सबैको साथ र सहयोगले समय मै सम्पन्न गर्न सफल भएको बताउनुभया ।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री चेत नारायण आचार्यको पनि उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य युवराज खनालको स्वागत र रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठकको सञ्चालनमा भएको हो । कार्यक्रमको अवसरमा जग्गादाता काशीनाथ खनाल र हेम बहादुर कार्कीलाई सम्मान गरिएको थियो । पुल अभावमा वर्षादको समयमा सास्ती भोग्दै आएका रामपुर नगरपालिका वडा नं. १, निस्दी गाउँपालिका वडा नं. १, २ र ३ लगाएतका स्थानीयहरुलाइ पुन सञ्चालनमा आए संगै सहज भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?