पाल्पा, दाँत झरेर समस्यामा रहेका ६० जना नागरिकलाई पाल्पाको रामपुरमा निःशुल्क कृतिम दाँत प्रदान गरिएको छ । कालीगण्डकी फाउण्डेशन नेपालले ट्राभल डेन्टिस्ट्री नेपालको प्राविधिक सहयोगमा दाँत नभएर बोली तथा चपाउन समस्या भएका नागरिकहरुलाई शिविर मार्फत कृतिम दाँत राखिदिएको हो ।
झण्डै २ महिनाको उपचार पश्चात गत बैशाख ३ देखि शुक्रबार सम्म निःशुल्क कृतिम दाँत शिविर सञ्चालन गरी फाउण्डेशनले दाँत हस्तान्तरण गरेको हो । किराले खाएर वा विभिन्न समस्या आएर दाँत झरेका पाल्पाको रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा र बगनासकाली गाउँपालिका र स्याङ्जाको चापाकोट नगरपालिकाका नागरिकहरुलाई दाँत प्रदान गरेको थियो । नमस्ते पाल्पा होटलको सभाहलमा दाँत हस्तान्तरण तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरी दाँत हस्तान्तरण गरिएको थियो ।
दाँत हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले पाचन प्रक्रिया, बोली र सुन्दरताको दाँत महत्वपूर्ण अंग रहेको भन्दै दाँत नभएका नागरिकहरुको लागि शिविर वरदान सावित भएको बताउनुभयो । उहाँले यस कार्यले नागरिकहरुको दैनिकी संगै दिर्घजीवन जिउन पनि मदत गर्ने बताउनुभयो । फाउण्डेशनले समाजमा गर्दै आएको कार्यको उहाँले प्रशंसा गर्नुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहाकार सन्दिप रानाले जेष्ठ नागरिकहरुको मुहानमा खुशी ल्याउन शिविरले सहयोग गरेको बताउनुभयो । उहाँले समाज रुपान्तरणका लागि आआफ्नो स्थानमा बाट सहयोगको अवश्यक रहेको बताउनुभयो । मलाई के दियो भन्नु भन्दा पनि समाजको लागि मैले के गरे भन्ने कुरा महत्वपर्ण हुने बताउनुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले ज्येष्ठ नागरिकको लागि गरेको कार्य अति प्रभावकारी भएको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा माओवादी केन्द्र रामपुरका नगर अध्यक्ष यमबहादुर सुनार, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सल्लाहाकार लेखनाथ पोखेरल, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका संयोजक अर्जुन श्रेष्ठ, रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकाल रमेश, रामतुलसी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, पत्रकार सुशीला रेग्मी लगायतले बोल्दै रामपुर क्षेत्रलाई कर्मथलो बनाएर गरेको कार्यले समाजमा सकारात्मक भुमिका खेलेको बताउनुभएको छ ।
ट्राभल डेन्टिस्ट्री नेपालका संयोजक डाक्टर शंकर श्रेष्ठले विशेषज्ञ सहित २१ जना दन्त चिकित्सक र प्राविधिक सहित ३१ जनाको टोली मार्फत शिविरमा सेवा प्रदान गरिएको बताउनुभयो । झण्डै छ वर्ष अघि देखिको योजना कालीगण्डकी फाउण्डेशन मार्फत सम्भवन भएको बताउनुभयो । दन्तरोग विशेषज्ञ डाक्टर अनिता गुरुङले कृत्रिम दाँतको प्रयोग र राखेपछि ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक फणिन्द्र खनाल, तुलसा खनाल र रुक्मागत भट्टराईले निःशुल्क दाँत राख्न पाउँदा धेरै खुशी लागेको बताउँदै फाउण्डेशन सहित डाक्टरहरुको टोलीलाई धन्यवाद दिनुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले २ महिना सम्म दाँतको समस्या भएकाहरुको पहिचान गरी उपचार पश्चात छोटो समय मै डाक्टहरुको अथक प्रयास पछि शिविर सफल भएको जानकारी दिनुभयो । कालीगण्डकी फाउन्डेशन नेपालका उपाध्यक्ष पवित्रा पौडेल ढकालले जेष्ठ नागरिकहरुको मुहारमा खुशी ल्याउनका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो ।
कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष पवित्रा पौडेल ढकालको स्वागत र सचिव सीता डोटेलको सञ्चालनमा भएको हो । कार्यक्रममा शिविरमा सेवा दिने चिकित्सकहरुको टोलीलाई सम्मान गरिएको थियो । कृतिम दाँत राखे संगै जेष्ठ नागरिकहरुले खुशी साटेका थिए ।