विकास निर्माण अभियानमा युवाहरुले खेलेको भूमिका प्रसंशनीय : समन्वय प्रमुख जिटी

गल्याङ, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्री प्रसाद जिटीले विकास निर्माण अभियानमा युवाहरुले खेलेको भूमिका प्रसंशनीय भएको बताउनुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ तल्लोगल्याङ स्थित खेल मैदानमा गल्याङ जेसिजद्वारा आयोजित प्रथम गल्याङ जेसिज रमाइलो मेला २०७९ को समापन समारोहलाई सम्बोधन गर्दै युवाहरुको एकता नै समृद्धिको आधार भएको कुरा बताउनुभयो ।

प्रमुख अतिथि जि.टीले भन्नु भयो, “युवा एकता बाट नै यो मुलुक परिर्वतन गर्न सम्भव छ ।” युवाको एकता आजको आवश्यकता भएको बताउँदै युवाहरुको जोस र जवानीलाई सहि रुपमा प्रयोग गरेर सिर्जनात्मक, रचनात्मक, उत्पादनका क्षेत्रमा लगानी गर्न सकियो भने मात्रै मुलुकको समृद्वि सम्भव हुने बताउनु भयो । आर्थिक समृद्विका लागि युवा अभियानका लागि व्यक्तित्व र नेतृत्व विकास संगै सामाजिक अभियानमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउदै शान्तिपूर्ण रुपमा सब्य र भब्य रुपमा कार्यक्रम सम्पन्न गरेको प्रति धन्यवाद दिनु भयो ।

उहाँले गल्याङ नगरपालिकाको बिकासका लागि नगर प्रमुख सँग समन्वय गरेर युवाहरुले साथ दिएर अगाडि बढ्न आग्रह गर्दै स्थानीय उत्पादन र सस्कृतिको संरक्षण र प्रवद्र्धन हुनेमा आफु बिस्वस्त रहेको जिकिर गर्नुभयो । २०७९ चैत्र ३० गते देखि २०८० बैशाख ९ गते सम्म १० दिन चलेको मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा बाल उद्यान रमाइलो मेलाको मुख्य आकर्षण रहेको थियो । भने करिव ५० हजार दर्शकले मेलाको अबलोकन गरेको आयोजकले जनाएको छ । यसैगरी कृषि तथा स्थानीय उत्पादनको प्रदर्शनी एवम् विक्री वितरण गरिएको थियो । जिल्ला स्तरीय नृत्य प्रतियोगिता, जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता, भजनकृर्तन प्रतियोगिता, रत्यौली प्रतियोगिताको समेत आयोजना गरिएको मेलामा टिकटको मूल्य साधारण तर्फ रु ७० राखिएको थियो भने विद्यार्थीका लागि ५० र जेष्ठ नागरिकका लागि निःशुल्क गरिएको थियो ।

कार्यक्रम गल्याङ जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी ऋषि बस्यालको अध्यक्षता, गल्याङ जेसीज वर्ष २०२२ का अध्यक्ष विष्णु अधिकारीको स्वागत र आस्थापाठ प्रेम नारायण रेग्मीले र कार्यक्रमको सञ्चालन महासचिव जेसी ज्ञानेन्द्र पाठकले सञ्चालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?