पाल्पा, पाल्पाको जोरधारामा भएको यात्रुवाहक बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चालक सहित ३८ जना घाइते भएका छन् । बुटवल बाट बाग्लुङको वुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार विहान तिनाउ गाउँपालिका–५ जोरधारामा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी ३६ वर्षीया राधिका पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । बस दुर्घटनामा घाईते भएका ३८ जनाको उद्धार गरी पाल्पाको लुम्बिनी मेडिकल कलेजमा प्रभासमा उपचार भइरहेको छ । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । घाईते मध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाईते हुनेहरुमा चालक अर्घखाँचीका ४५ वर्षिय तुल्सीराम पाण्डे, गुल्मी सत्यवती–५ का ६६ वर्षिय कुन्ती भण्डारी, बाग्लुङ बडिगाड १० का २४ वर्षिय तिलक वि.क., गुल्मी दरबार गाउँपालिका २ का राजु बराली, रुपन्देही देवदह–३ का ४८ वर्षिय यमनाथ पौडेल, बाग्लुङ गल्कोटका ६४ वर्षिय राम बहादुर खत्री, गल्कोट–४ का ७३ वर्षिय कर्ण बहादुर खत्री, रुकुम पश्चिमका ३५ वर्षिय राजेश कुमार पुन, रैनादेवी छहरा गाउँपालिका कुसुमखोला पाल्पाका ६६ वर्षिय विष्णु थापा, रुपन्देही देवदह–५ खैरेनीका ३८ वर्षिय केशव बर्देवा, रुपन्देही बुटवल उपमहानगरपालिकाका ४३ वर्षिय पुष्पा मुदुन रहेका छन् ।
बस राजमार्गभन्दा करिब ८० मिटर तल भीरमा खसेर अड्किएको छ । बायाँ तर्फ बाट आएको बस दायाँतर्फ भीरमा खसेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विहान साढे नौ बजेको समयमा बस दुर्घटना भएको थियो ।