सिवाइसी नेपाल लघुवित्त रामपुर शाखा द्वारा सोममायाको परिवारलाई राहत प्रदान

पाल्पा, सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्था शाखा कार्यालय रामपुर पाल्पाले आफ्ना सदस्यको परिवारलाई राहत प्रदान गरेको छ । रामपुर नगरपालिका १ स्याउली बजार बस्ने सोममाया कामीको परिवारलाई नगद सहित खाद्यान्न राहत प्रदान गरेको हो ।

सोममायाको केही दिन अघि अल्पायु मै निधन भएको थियो । नवौं दिनको पुण्यतिथीको अवसरमा संस्थाले उनको घर मै पुगेर समवेदना ज्ञापन गर्दै राहत प्रदान गरेको हो । सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्थाका केन्द्रिय कार्यालयको कलष्टर प्रमुख गणेश तिवारी, रामपुर नगरपालिका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँण, संस्थाको रामपुर शाखा प्रमुख दिपक खत्री सहितको उपस्थितिमा परिवारलाई राहत प्रदान गरिएको हो । संस्थाको सदस्य सुबिधा नियमावली तथा सामाजिक उत्तरदायीत्व अन्तर्गत सोममायाँको परिवारलाई नगद १० हजार सहित २५ केजीको २ बोरा चामल, ५ लिटर खाने तेल र ५ किलो दाल वडा अध्यक्ष कपिल बहादुर खाँण मार्फत हस्तान्तरण गरिएको थियो ।

राहत हस्तान्तरण गर्दै वडा अध्यक्ष खाँणले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको कार्य प्रशंसनिय रहेको बताउनुभयो । उहाँले अप्ठ्यारो परेको समयमा सहयोग गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । संस्थाको प्रगतिको कामना गर्दै उहाँले नीति नियममा रहेर अघि बढ्न अनुरोध गर्नुभयो ।

रामपुर शाखा प्रमुख दिपक खत्रीले स्वर्गीय सोम मायाको आत्मा शान्तिको कामना गर्दै लघुबित्त कर्जा तथा बचतको कारोबारमा मात्र नभै सदस्यको सुख, दुःखमा समेत साथमा रहेको बताउनुभयो । उहाँले संस्थामा आवद्ध सदस्यमा आर्थिक अवस्था कमजोर भै बिचमै अध्ययन छाड्नु पर्ने अवस्था आएमा सिवाइसी छात्रवृत्ति योजना पनि सञ्चालन गरेको जानकारी दिनुभयो । जसका लागि २०८० बैशाख १० देखि बैशाख २० गते सम्म फर्म खुल्ला गरिएको जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?