पाल्पा, पाल्पाको तानसेनमा बिहिबार देखि ‘पाल्पा महोत्सव २०८०’ सुरु भएको छ । कृषि, पर्यटन, उद्योग र व्यापार क्षेत्रलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनका लागि १३ आैं संस्करणको पाल्पा महोत्सव सुरु भएको हो ।
पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजना, नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, जिल्ला समन्वय समिति पाल्पा, तानसेन नगरपालिका, कृषि ज्ञान केन्द्र, पाल्पा र घरेलु तथा साना उद्योग कार्यालय, पाल्पा सहआयोजनामा तानसेन टुँडिखेलमा सुरु भएको महोत्सवको विधिवत् रुपमा उट्घाटन गरिएको हो । महोत्सवको उट्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले सुन्दर नगरी तानसेन र वरपरका क्षेत्रको पर्यटकीय विकासका साथै पछिल्लो समय सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सव सफल हुने बताउनुभएकाे थियो । लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा पहिचान बनाएको पाल्पा आन्तरिक तथा बाहृय पर्यटकका लागि महत्वपूर्ण स्थल भन्दै उहाले उद्योग, व्यापार क्षेत्रमा चलायमान बनाउन पनि महोत्सव सफल हुने बताउनुभयाे ।
कार्यक्रममा प्रदेशसभा सदस्य खेमबहादुर सारु, राजुप्रसाद श्रेष्ठ, इन्द्रा गहतराज, पूर्व मन्त्री सोमप्रसाद पाण्डेय, पूर्वसांसद यादव बहादुर रायमाझी, लिला सोमैलगायतले व्यापार महोत्सवले अर्थतन्त्रलाई चलायमान गराउन सहयोग पुग्ने बताउनुभयो । यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरू मोहनप्रसाद श्रेष्ठ, उज्वलमान कसजु, केशव भण्डारी, नेपाली कांग्रेस पाल्पाका कार्यबहाक सभापति झपेन्द्र गहिरे, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी पाल्पाका संयोजक राजेन्द्र विश्वकर्मा, राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुवर, नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाकी कार्यबहाक प्रमुख प्रतीक्षा सिंजाली, पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जन, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, पाल्पा व्यापार संघका अध्यक्ष बामदेब बस्याल लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रम संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक शैलेन्द्र भट्टराईको अध्यक्षता र महासचिव समीरमान सिंहको संचालनमा भएको हो । उट्घाटनको अवसरमा तानसेन नगरपालिका भित्रका टोल विकास संस्था, संघ संस्था, धार्मिक संघसंस्था, व्यापारिक प्रतिष्ठानको सहभागितामा सचेतना सहित संस्कृति झल्कने झाँकी सहितको र्याली निकालिएको थियो । जनचेतनामूलक प्लेकार्डसहित तानसेन नगरको परिक्रम गर्दै र्यालीले महोत्सवको प्रचारप्रसार गरेको प्रचारप्रसार संयोजक विदुर घिमिरेले बताउनुभयाे । पाल्पामा साहसिक खेलको सुरुआत गर्ने उद्देश्य सहित दुई वटा प्याराग्लाईडिङबाट कार्यक्रमस्थलमा पुष्प वर्षासमेत गरिएको थियो ।
महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्री, वितरण हुने अध्यक्ष शैलेन्द्र भटराईले बताउनुभयो । राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको बिक्री तथा प्रदर्शनी गरिएको छ । घरेलु उत्पादनका साथसाथै स्थानीय उत्पादनका लागि स्टल छुट्याइएको छ । पाल्पाली करुवा, रानीमहलको स्वरुप सहितको सचिवालयले ध्यान खिचेको छ । मूल आयोजक समितिका संयोजक भटराईका अनुसार समग्र पाल्पाको विकासका लागि उद्योग वाणिज्य संघले विगतदेखि नै विभिन्न क्षेत्रमा सहयोग गरेको छ । क्याम्पस निर्माण, खानेपानी लगायतका क्षेत्रमा उद्योग वाणिज्य संघको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।
महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, कला केन्द्र द्वारा प्रस्तुत नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकार द्वारा मनोरन्जनात्मक प्रस्तुतिले पनि अवलोकनकर्ताको ध्यान खिच्ने वाणिज्य उपाध्यक्ष तथा सांस्कृतिक कार्यक्रम संयोजक भिमबहादुर श्रेष्ठको विश्वास छ । लोकदोहोरी, आधुनिक, पप, रोईला, हाँस्य व्यंग्य, स्थानीय खानाका परिकारले पनि महोत्सवलाई थप आकर्षक बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
महोत्सवमा ३ सय स्टल रहेका छन् । महोत्सवमा घरेलु तथा कुटिर उद्योग, पाल्पाली ढाका उद्योग, होटल, तथा विभिन्न गार्मेन्ट, कस्मेटिक, खाद्यान्न, अटोमोबाईल लगायतकाे स्टल रहेको छ । महोत्सवमा जेष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । महोत्सव बाट १० करोड भन्दा बढीको कारोबार हुने र ३ लाखभन्दा बढीले अवलोकन गर्ने लक्ष्य लिईएको छ ।