नवदुर्गा मावि रामपुर ६ तिलकपुरको प्रवेशद्वार अगाडी जेब्रा क्रसिङ्ग निर्माण

पाल्पा, नवदुर्गा माध्यमिक विद्यालय रामपुर नगरपालिका वडा नं ६ तिलकपुरको प्रवेशद्वार अगाडी जेब्रा क्रसिङ्ग निर्माण गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय रामपुरको प्राबिधिक सहयोगमा जेब्रा क्रसिङ निर्माण गरिएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनक भण्डारी, प्रधानाध्यापक भानुभक्त न्यौपाने, शिक्षक, कर्मचारी लगायतले जेब्रा क्रसिङ निर्माण कार्यमा सहयोग गर्नुभएको थियो । बढ्दो शहरीकरण संगै दुर्घटनाको जोखिम भएकाले विद्यालय तथा चहलपहल हुने विद्यालय नजिकको जेब्रा क्रसिङ अति आवश्यक रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले बताउनुभयो । सवारी साधन धेरै गुड्ने सडकहरुमा स्थानीय सरकारले ध्यान दिनु पर्ने बताउनुभयो ।

कक्षा ८ मा अध्ययनरत विद्यार्थी सुवास अधिकारीले पुस्तकमा पढेको तर वास्तविक रूपमा जेब्रा क्रसिङ नदेखेको अवस्थामा विद्यालय प्रवेश द्वार अगाडी बनाइएपछी ढुक्कसँग सडक पार गर्न पाइने बताउनुभयो । रामपुर नगरमा यस अघि व्यस्त बजार क्षेत्र बेझाँड क्षेत्रमा जेब्रा क्रसिङ बनाईए पनि मेटिसकेको छ । यस पश्चात रामपुर ६ को सहयोगमा तिलकपुरमा जेब्रा क्रसिङ तयार पारिएको शिक्षक दिपेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

तालपोखरा – तिलकपुर –गौरीघाट पुल सडक खण्डमा सवारी साधनमा दैनिक आवतजावत बढे संगै दुर्घटनाको जोखिम न्युनिकरण गर्न विद्यालय परिषर अगाडी जेब्रा क्रसिङ निर्माणमा सहयोग गरेको वडाध्यक्ष दिवाकर देवकोटाले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?