पाल्पा, रामपुर नगरपालिका वडा नं. ३ केलादी धाममा स्थित राधा घनश्याम मन्दिरमा आज देखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । मन्दिर तथा गौशालाको व्यवस्थापन, धर्मजागरण, पर्यटन प्रवद्र्धनका लागि राधा घनश्याम मन्दिर व्यवस्थापन समितिको आयोजना महायज्ञ सुरु भएको हो ।
यज्ञको शुक्रबार एक कार्यक्रम गरी विधिवत रुपमा उट्घाटन गरिएको हो । महायज्ञको उट्घाटन गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले आध्यात्मिक ज्ञान, विचार र सत्कर्मले व्यक्ति र समाजलाई अघि बढाउन महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले नगरको समृद्धिका लागि सकारात्मक सोचको महत्वपूर्ण भुमिका हुने बताउँदै यस्ता कार्यले धर्म संस्कृतिको संरक्षण संगै थप उत्प्रेरणा प्रदान गर्ने बताउनुभयो । केलादी धाम आफैमा एतिहास बोकेको धार्मिक आस्थाको केन्द्र भएकाले याहाँको विकासका लागि सबैको सकारात्मक सोच र सहयोगको खाँचो रहेको बताउनुभयो । एतिहासिक धरोहरको उत्थानको लागि नगरपालिकाले पनि आवश्यक पहल गर्दै आएको बताउनुभयो ।
रामपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दामोदर पाठकले केलादी धाम रामपुर नगरपालिका ३ संगै नगरको मात्र नभै यस क्षेत्रको धार्मिक महत्वको स्थल भएको बताउँदै वडा पनि प्रतिवद्ध भएर लागेको बताउनुभयो । समाजसेवी उमनाथ अर्यालले ऐतिहासिक स्थलको रुपमा रहेको केलादी धामको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारको लागि हामी सबै एकजुट भएर लाग्ने समय आएको बताउनुभयो । बैशाख २२ गते सम्म सञ्चालन हुने महायज्ञमा पण्डित राधाशरण काफ्ले ज्यूको मुखार विन्द बाट संगितमय शैलीमा प्रवचन भैरहेको छ ।
राधा घनश्याम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छबिरमण उपाध्याय सुवेदीको अध्यक्षतामा भएको उट्घाटन कार्यक्रम समाजसेवी बोधराज सुवेदीको स्वागत र यज्ञ व्यवस्थापन तथा प्रचारप्रसार उपसमितिका सचिव समीर पौडेलको सञ्चालनमा भएको हो ।