आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक रामपुरमा सम्पन्न

पाल्पा , जिल्ला स्तरिय आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक रामपुर पाल्पामा विहिबार सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको आयोजनामा पूर्वखोला गाँउपालिका , निस्दी गाँउपालिका र रामपुर नगरपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापकहरुको बैठक दरैठाँटी मावि विजयपुरमा सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले विद्यालयको शिक्षा सिक्ने , बिक्ने र टिक्ने बनाउनु पर्ने बताउनु भएको छ । उहाँले विद्यार्थी र समाज रुपान्तरणका लागि कस्तो शिक्षा प्रदान गरेका छौँ भन्ने कुराको स्वमूल्याङ्कन गरी गुणस्तरिय शिक्षाका लागि प्रधानाध्यापकहरुलाई कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिनुभयो । उहाँले विद्यालयको सुधारका लागि प्रधानाध्यापकले जुन सुकै समय नैतिक दायित्व बहन गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो । खनालले विद्यालयको शैक्षिक सुधार कार्यक्रमका लागि स्थानिय सरकारले पनि ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो – “शैक्षिक सुधारका लागि तपाई प्रधानाध्यापकहरु लाग्नुस् कुनै पालिकाले आग्रह पूर्वाग्रह गरे कानुन अनुसार अधिकार प्रदान गर्न म सहयोग गर्छु । ” उहाँले समग्र जिल्लाको शिक्षा कस्तो बनाउने भन्ने विषयमा आफुले पनि स्थानीय तहहरु संग छलफल गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शिक्षा निति कस्तो बनाउने भन्ने विषय राज्यकै गम्भिर विषय भएको भन्दै विद्यार्थीको चाहाना अनुसारको शिक्षाले मात्र सोचे अनुसारको शैक्षिक उपलब्धी हासिल गर्न सकिने बताउनु भएको छ । उहाँले सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो– “सैद्धान्तिक शिक्षाले विद्धवान बनाउँछ तर ज्ञानी बनाउन सक्दैन ,व्यवहारिक शिक्षाले मानिसलाई ज्ञानी बनाउँछ त्यसैले व्यवहारिक शिक्षा आजको आवश्यकता हो ।” शिक्षाको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको भन्दै उहाँले शिक्षालाई विद्यालय शिक्षामा मात्र सिमित नगराई अब हरेक पालिकामा विद्यार्थीहरुको चहाना अनुसारको शिक्षा प्रदान गर्नका लागि अनौपचारिक शिक्षा केन्द्र खोल्नु पर्ने बताउनुभयो । मानिसको शैक्षिक र सामाजिक विकासका लागि विद्यालयमा प्रदान गरिने शिक्षाको महत्वपूर्ण भुमिका हुने भन्दै नगर प्रमुख थापाले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि लाग्न प्रधानाध्यापकहरुलाई आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा पूर्वखोला गाँउपालिकाका अध्यक्ष नुन बहादुर थापाले विद्यालय सुधारका लागि साना साना कुरामा ध्यान दिनु पर्ने बताउनु भएको छ । उहाँले विद्यालयको शैक्षिक गुणस्तर , सिकाई प्रक्रियामा ध्यान दिन सके विद्यालयको शिक्षा उपलब्धिमूलक हुने बताउनुभयो । साथै शिक्षाको प्रभावकारीताका लागि यथार्थ धरातलको स्थानीय पाठ्यक्रमको आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष थापाले विद्यालयमा भएका स्रोत साधनको अधिकतम प्रयोग गरेर विद्यालय व्यवस्थापन र संचालन गर्न आग्रह गर्नु भएको छ । उहाँले शैक्षिक विकासका लागि पालिकाले शिक्षामा लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

यसैगरी निस्दी गाँउपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले शिक्षा विकाउ नभई देशभक्त नागरिक उत्पादन गर्ने खालको हुन पर्ने बताउनु भएको छ । उहाँले विद्यालयको सुधारका लागि हरेक विद्यालय नयाँ शिराबाट सञ्चालन हुन आवश्यक रहेको बताउनुभयो । साथै पालिका भित्रको शिक्षण सिकाईमा एक रुपता हुनु पर्ने बताउदैँ सक्षम विद्यार्थी उत्पादनका लागि दत्तचित्त भएर लाग्न प्रधानाध्यापकहरुलाई आग्रह गर्नु भएको छ । पालिकाले गाँउ शिक्षा ऐन बनाउने तयारीमा रहेको भन्दै आगामी आर्थिक बर्ष देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्ने बताउनुभयो ।

दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुर पाल्पाको सभाहलमा भएको बैठकमा रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल र गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले विद्यालयको अवस्था , संचालन विधि , शिक्षण सिकाई लगाएतका विषयमा जानकारी गराउनु भएको थियो । बैठकमा विद्यालय सुशासन र व्यवस्थापन , योजना निर्माण , लक्ष्य निर्धारण , भर्ना अभियान समिक्षा लगाएतका विषयमा छलफल भएको थियो ।

शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख महेन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन समन्व्य ईकाईका प्राविधिक सहायक बम बहादुर थापाले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?