कालीमाटीमा सुख्खा पहिरो खसेपछि पाल्पा बुटवल खण्ड सडक अवरुद्ध

पाल्पा,सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-५ कालीमाटीमा सुख्खा पहिरो गएकाले अबरुद्ध भएको हो ।

गौडेपुल र चरचरे सडको विचमा रहेको कालिमाटीमा विहान ५:३० मा गएको सुख्खा पहिरोका कारण राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव निरीक्षक दामोदर मल्लले जानकारी दिनुभयो । सडक अबरुद्व भएपछि सवारी साधनहरु बाटैमा रोकिएकाे छ ।

सडकमा पहिरो खसेपछि राजमार्गको सुनौलीदेखि पोखरा हुँदै मुस्ताङसम्म चल्ने सवारी साधन अवरुद्ध भएका छन् । राजमार्गकै सिद्धबाबा क्षेत्रमा निर्माण हुन गइरहेको सुरुङमार्गले राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द गर्छ । राजमार्गमा बिहीबार राति १० बजेदेखि गन्तव्यमा जान नपाएका सवारीसाधन सडकमा अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा पहिरो खसेको छ । स्थानीय बासिन्दाका अनुसार यही स्थानमा गत वर्ष पनि ठूलो पहिरो खसेको थियो । अवरुद्ध सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय पाल्पा संग समन्वय गरी अहिले सानो मेसिनले सडक खुलाउने प्रयास भैरहेको मल्लले जानकारी दिनुभयो । सडक एक तर्फी खुलाउन अाधा घण्टा लाग्ने र सडक पुर्ण रुपमा खोल्नलाई समय लाग्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?