निस्दीमा सम्पन्न प्रथम खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबलको उपाधी बौदीकालीलाई

पाल्पा, पाल्पाको निस्दी गाउँपालिकामा भएको प्रथम खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ । निस्दी गाउँपालिकाको आयोजना र निस्दी भलिबलको संघको सहआयोजनामा भएको प्रतियोगिताको फाईनल खेलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई पराजित गर्दै बौदीकालीले प्रथम स्थान हासिल गरेको हो ।

सोमबार भएको फाईनल खेलमा कालीगण्डकीलाई २/१ सेटले बौदीकालीले पछि पारेको थियो । समय अभावका कारण फाईनल खेल वेष्ट अफ थ्री मा भएको थियो । पहिलो र तेस्रो सेट बौदीकाली गाउँपालिकाले २५/१८ र १५/१३ अंक सहित जितेको थियो । कालीगण्डकी गाउँपालिकाले दोस्रो सेट २५/२२ अंक सहित हात पारेको थियो । यस संगै कालीगण्डकी गाउँपालिका प्रतियोगितामा द्वितिय स्थानमा सिमित भएको छ ।

त्यस्तै प्रतियोगिताको तृतिय उपाधी बाग्लुङको गलकोट नगरपालिकाले हात पारेको छ । तृतिय स्थान छनौटका लागि भएको खेलमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिकालाई २/१ सेटले पराजित गर्दै गल्कोट तृतिय भएको हो । खेलको पहिलो सेट बर्दघाटले २५/२३ अंक सहित हात पारेको थियो । अन्तत गल्कोटले दोस्रो र तेस्रो सेट २५/१७ र १५/१३ अंक सहित हात पार्दै तृतिय हुन सफल भयो । यस संगै बर्दघाट प्रतियोगिताको सान्त्वना भएको छ । सेमिफाईनलको खेलमा बौदीकालीले गल्कोटलाई २/१ सेट र कालीगण्डकीले बर्दघाटलाई २/० को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा विजयी प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने समुहलाई क्रमश नगद १ लाख २० हजार, ८० हजार, ५० हजार र ३० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

पाल्पा, स्याङ्जा, बाग्लुङ, नवलपरासी सुस्ता पूर्व र नवलपरासी सुस्ता पश्चिमका ८ पालिकाको सहभागिता रहेको प्रतियोगितमा बौदीकाली गाउँपालिकाका आशिष श्रेष्ठ वेष्ट प्लेयर, हिमाल सुनारी वेष्ट सर्भर, वेष्ट ब्लकर विश्वास अधिकारी, कालीगण्डकीका सुदिप राना वेष्ट सेटर, बर्दघाटका कमल गहतराज वेष्ट स्पाइकर र वेष्ट डिफेण्डर गल्कोटका चन्द्र सुनार भएका छन् । उनीहरु मध्ये उत्कृष्ट खेलाडीले नगद ३ हजार र अन्य विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २/२ हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेता खेलाडीहरु लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु र उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ लगाएतले पुरस्कार प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सदस्य राजु प्रसाद श्रेष्ठले अन्तरपालिका स्तरिय प्रतियोगिताले युवाहरु विच भातृत्वको विकास गर्नुका साथै विकासमा सहकार्य गर्न प्रेरित गर्ने बताउनुभयो । उहाँले खेलकुद स्वास्थ्य र राष्ट्रका लागि मात्र नभै सम्बन्ध स्थापित गर्ने माधयम रहेको बताउनुभयो । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले पनि मित्रताको सम्बन्ध गाँस्न तथा एक आपसमा सहकार्यका लागि प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निस्दी भलिबल संघका सदस्य होम राई मगरले गर्नु भएको हो । प्रतियोगिताको अवसरमा निस्दी १ को चुड्का, निस्दी २ को कौरा, निस्दी ४ को पञ्चेबाजा, निस्दी ५ को ठूलो नाच तथा झ्याउरे लगाएतको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । लोक गायक हुम गैरे, गायिका धानमाया दिसुवा लगाएतका कलाकारहरुको पनि प्रस्तुति रहेको थियो ।

दल बहादुर जर्घा स्मृति खेल मैदान निस्दी गाउँपालिका–५ ढुङ्गानाबेशीमा भएको प्रतियोगिता गत बैशाख २३ गते बाट सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?