झुम्सामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, झुम्सामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । सोमवार अपरान्ह बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

सोमबार साँझ ६ः १५ बजेको समयमा भएको दुर्घटनामा मोटरसाइकल चालक गुल्मी छत्रकोट –३ हर्दिनेटाका ३०  वर्षीय जीवन पन्तको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायक उपरीक्षक वीरेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते पन्तलाई उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?