एक महिने निःशुल्क लोक सेवा तयारी कक्षा रामपुरमा सुरु

पाल्पा , रामपुर पाल्पामा एक महिने निशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजनामा लोक सेवा तयारी कक्षा सुरु भएको हो । तयारी कक्षाको शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले लगनशिलताका साथ अध्ययन गरेर निजामति सेवामा प्रवेश गर्न अनुरोध गर्नुभयो । लोक सेवाको परिक्षामा उत्तिर्ण भएर निजामति सेवामा प्रवेश गर्न सके आफ्नो भविष्य सुनिश्चित हुने बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेले निजामति सेवामा प्रवेश गरि सुशासन सहित नागरिकको सेवामा लाग्न सहभागिलाई आग्रह गर्नुभयो । उहाँले लगनशिल र मेहेनतका साथ तयारी गर्न सके लोक सेवा आयोगको परिक्षामा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।

यस्तै कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गादेवि भण्डारी गौतमले यस क्षेत्रका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरेर नगरपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको बताउनुभयो । यस्तै रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले कक्षामा सिकाईएका ज्ञान सिपको सदुपयोग गरि अगाडी बढ्न आग्रह गर्नुभयो । शहिद बहुमुखी क्याम्पस रामपुरका स्ववियु सभापति ल्याकत अलीले नगरपालिकाले विद्यार्थीहरुको चहानालाई बुझेर सहि समयमा कक्षा सञ्चालन गरेकोमा धन्यवाद दिंदै बढी भन्दा बढी विद्यार्थीहरुलाई समेट्न आग्रह गर्नु भएको थियो ।

रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको लोक सेवा तयारी कक्षा शुभारम्भ कार्यक्रम रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेको स्वागत र नगर प्रेस सल्लहाकार दानु हिस्की मगरको सञ्चालनमा सम्पन्न भएको हो । रामतुलसी नमुना माध्यमिक विद्यालयमा भएको तयारी कक्षाको सञ्चालन पहिलो दिन मालपोत कार्यलय रामपुरका अधिकृत होम बहादुर थापाले गर्नु भएको छ । एक महिना सम्म सञ्चालन हुने तयारी कक्षामा १ सय १८ जनाको सहभागिता रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?