नेपाल शिक्षक संघ रामपुर द्वारा शिक्षकहरुलाई स्वागत, सम्मान, बधाई तथा शुभकामना प्रदान

ध्रुव भण्डारी
पाल्पा, नेपाल शिक्षक संघ रामपुर नगर कार्यसमितिले शिक्षक स्वागत, सम्मान, बधाई तथा शुभकामना साथै भित्तेपात्रो विमोचन गरेको छ । संघले शनिबार रामपुरमा कार्यक्रम गरी शिक्षक सेवा आयोगमा नाम निकाल्नु भएका शिक्षकलाई स्वागत, बढुवा हुने शिक्षक तथा विभिन्न विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु शिक्षकलाई बधाई तथा सेवा निवृत हुनु भएका शिक्षक सम्मान प्रदान गरेको हो ।

संघले प्रकाशन गरेको २०८० सालको भित्तेपात्रो विमोचन गर्नुका साथै शुभकामना आदन प्रदान गरेको थियो । शिक्षकहरुलाई स्वागत सहित सम्मान व्यक्त गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले शैक्षिक क्षेत्रको उत्थानका लागि जिम्मेवार भएर, लगनशील र मेहनतका साथ शिक्षण गर्नुपर्ने बताउनु भयो । शिक्षक कर्मचारीले जागिरे जीवन भन्ने नसोची सेवाको भावनाले काम गरेमा शैक्षिक क्षेत्रले फड्को मार्ने बताउनुभयो । उहाँले नगरको विकास र शैक्षिक क्षेत्रको उत्थानका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताउनु भयो । नेपाल शिक्षक संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले शिक्षक संघले पेशाकर्मी शिक्षकको हकहितको आन्दोलन, गुणस्तरीय शैक्षिक व्यवस्थापन, सामाजिक रुपान्तरणको अभियान, नैतिक शिक्षालाई सबलिकरण बनाउने लगायतका क्षेत्रमा काम गर्दै आईरहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, रामपुर नगरपालिका वडा नं ६ का वडा सदस्य हरिनाथ ढुंगाना, नेपाल शिक्षक संघ रामपुरका निवर्तमान अध्यक्ष लेखनाथ रेग्मी लगयतले आफ्ना भनाइ राख्नुभएको थियो । कार्यक्रमको उद्देश्य बारे संघका नगर अध्यक्ष डोलराज रेग्मीले जानकारी दिनुभयो । रामतुलसी माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रम नेपाल शिक्षक संघ रामपुर नगर कार्यसमितिका अध्यक्ष डोलराज रेग्मीको अध्यक्षता, संघका उपाध्यक्ष मनबहादुर नेपालीको स्वागत र सचिव दिपेन्द्र भट्टराईको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?