रानीमहलमा सम्पन्न राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

पाल्पा, पाल्पाको रानीमहलमा सम्पन्न राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएका फाईनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचाल्न सफल भएको हो ।

आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हरायो । उपाधि सहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले एक लाख रुपैयाँमा चित्त बुझाएको छ । अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्न सफल भएको छ । एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

आर्मीलाई उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्नु भएको छ । उहाँले १० हजार रुपैयाँ प्राप्त गर्नुभयो । चैत २८ गतेबाट रानीमहल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश गरि ५ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि ९ टोलीको सहभागीता रहेको थियो । राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेशनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई बिच भलिबलको हब बनाउने उद्धेश्यका साथ गत वर्षदेखि सुरुआत गरिएको थियो ।

समापन समारोहका प्रमुख अतिथी प्रदेश सभा सदस्य वीरबहादुर राना, फाउन्डेसनकी अध्यक्ष निरोज मास्के लगायतले विजेता खेलाडी र टिमलाई पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगिताको दोस्रो संस्करणको उपस्थित भएर तानसेन नगरपालिका मेयर सन्तोषलाल श्रेष्ठ र बेगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले रानीमहल क्षेत्रलाई वीच भलिबलको केन्द्र बनाउने घोषणा गर्नु भएको थियो । खेलकुद मार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सञ्जय मेमोरियल फाउन्डेसनले कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?