नेपाल प्रेस युनियन पाल्पाको नेतृत्वमा मन गहिरे चयन, अधिवेशनको अवसरमा ८ पत्रकार पुरस्कृत

पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाको ९ आैं जिल्ला अधिवेशन सम्पन्न भएको छ । युनियनले सम्मान तथा पत्रकारिता पुरस्कार वितरण समारोह सहित अधिवेशन सम्पन्न गरेको हो ।

आईतबार तानसेनमा सम्पन्न अधिवेेशनले मन ग‌हिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामचन्द्र रायमाझी, खुल्ला उपाध्यक्षमा विष्णु खनाल र समावेशी तर्फ दान बहादुर हिस्कीलाई चयन हुनु भएको छ । त्यस्तै सचिवमा विष्णु प्रसाद घिमिरे, सहसचिवमा इमान सिं राना, वविता विष्ट र सन्तोष सुनार, कोषाध्यक्षमा दिपक भट्टराई रहनु भएको छ । सदस्यहरुमा किशन पोखरेल, जिवन तिवारी, मिना कुमाल, प्रकाश ज्ञावली, रमेश राना, भविश्वर पौडेल, सुमन कार्की, दुर्गा अर्याल, इवन राना र सुशील बस्याललाई चयन गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाको सभाहलमा भएको अधिवेशनको उट्घाटन गर्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं वर्तमान प्रदेश सभा सदस्य वीर बहादुर रानाले मुलुकमा भएका विकृति विसंगति विरुद्ध सशक्त भएर कलम चलाउन पत्रकारहरुलाई अाग्रह गर्नुभयो । पछिल्लो समय संविधानको मर्म विपरित प्रहार भैरहेको बताउँदै सो प्रहार लोकतन्त्र र सिङ्गो व्यवस्था माथि कै प्रहार भएकाले कलमलाई सशक्त बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । रानाले राजनीति प्रतिको अाकर्षण र दलहरु प्रतिको विश्वास घट्दै गएको सन्दर्भमा लोकतन्त्रको पक्षमा कलम चलाउनु पर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले विद्युतीय सञ्चार माध्यमले अवसर संग‌ै पत्रकारितामा चुनौती थपिएको बताउनुभयो । उहाँले वर्तमान चुनौतीहरुलाई चिर्नका लागि पत्रकारको क्षमता अभिवृद्धि संगै संगठनलाई मजबुत बनाउन युनियन लागि परेको जानकारीदिनु भयो । उहाँले प्रेस स्वतन्त्रताको पक्षमा युनियन प्रतिवद्ध भएर लडिरहेको बताउँदै युनियनका पत्रकारहरुलाई आचार संहिता, पत्रकारिताका मूल्य र मान्यता अनुसार अघि बढ्न अाग्रह गर्नुभय‍ो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्णले पाल्पा एेतिहासिक शहर रहेको बताउँनुभयो । उहाँले प्रेस युनियन
पार्टीको शुभेच्छुक रहे पनि सरकारको प्रतिपक्षमा रहिरहने बताउनुभयो । युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले पत्रकार माथि भएका प्रहारलाई चिर्न सत्य र तथ्यमा अाधारित भएर खोजमुलक सामाग्री उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले झुट्टा सुचनाले सञ्चार कर्मीहरु प्रति प्रश्न उठेको बताउँदै त्यस प्रति सचेत रहन अाग्रह गर्नुभयो ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नविन गिरीले पाल्पा शाखाले चालेको कदम सह्रानिय रहेको बताउँदै साझा संस्थाको रुपमा स्थापित गर्नका लागि लाग्न अाग्रह गर्नुभयो । युनियनका पूर्व केन्द्रीय सदस्य विष्णु भुसालले संगठनलाई थप चलाएमान बनाएर अघि बढ्न शुभकामना दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका कार्यवाहक सभापति एवं प्रेस युनियन पाल्पाका संस्थापक झपेन्द्र गहिरेले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको लागि युनियनले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभयो । नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले गणतन्त्र स्थापना संगै अधिकारको लागि पत्रकारिताले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । व्यवस्था माथि नै जुन ढंगले प्रश्नहरु उठिरहेको छ मुख्य दलहरु साझा सहमति गरेर अघि बढ्नु पर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र पाल्पाका मथुरा ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सचिव सुमन गहिरे, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुल बहादुर कुँवर, एकीकृत समाजवादी पाल्पका सचिव मोहनलाल गहिरे, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागरमान महर्जन, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना, पाल्पा उद्योग वाणिज्य संघका विदुर घिमिरे, प्रेस चौतारी नेपाल पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीले शुभकामना मन्तव्य राख्नु भएको थियो । नेपाल प्रेस युनियन पाल्पाका सभापति भरत शर्माको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका जिल्ला सचिव रामचन्द्र रायमाझीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थिय‍ो । उपाध्यक्ष मन गहिरेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र रायमाझीले गर्नु भएको हो ।

 

कटुवाल खबरका सम्पादक मल्ल सहित ८ पत्रकार सम्मानित

नेपाल प्रेस युनियन जिल्ला शाखा पाल्पाले कटुवाल खबर डटकमका सम्पादक दुर्गेश मल्ल सहित ८ जना पत्रकारलाई पुरस्कृत गरेको छ । अधिवेशनको अवसरमा युनियनले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई विभिन्न पुरस्कार बाट पुरस्कृत गरेको हो ।

युनियनले समाजसेवी राम प्रसाद श्रेष्ठले स्थापना गर्नु भएक‍ो मान बहादुर श्रेष्ठ स्मृति पुरस्कार बाट मल्ललाई पुरस्कृत गरेको हो । त्यस्तै कटुवाल खबरका सह-सम्पादक इमान सिं राना मीना पन्थीले स्थापना गर्नु भएको राजेन्द्र स्मृति पत्रकारिता पुरस्कारलाई पुरस्कार प्रदान गरेको छ ।

साथै युनियनले स्वर्गीय चकोरमान शाक्यले स्थापना गर्नु भएको पूर्णमान स्मृति पत्रकारिता पुरस्कार बाट इमेज टेलिभिजनका संवाददाता एवं प्रेस युनियनका निवर्तमान सभापति भरत शर्मा, गंगाराम नेपालले स्थापना गर्नु भएको तिलकराम नेपाल स्मृति पुरस्कार बाट नवजनचेतना दैनिकका सहसम्पादक राचन्द्र रायमाझी, उदय घिमिरेले स्थापना गर्नु भएको लक्ष्मण घिमिरे पत्रकारिता पुरस्कार बाट पत्रकार सरस्वती दंगाल, सुरेशमान कर्मचार्यले स्थापना गर्नु भएको विकास पत्रकारिता पुरस्कार बाट रेडियो नेपालका पाल्पा संवाददाता विष्णु खनाल, त्रिलोचन पौडेलले स्थापना गर्नु भएको बालकुमारी स्मृति पत्रकारिता पुरस्कार बाट पत्रकार एवं लेखक पुष्करराज रेग्मी र बुद्धि प्रसाद शर्मा र शोभा शर्मा द्वारा स्थापित पत्रकारिता पुरस्कार बाट नेपाल समाचार पत्रका सम्वाददाता कविराज नेपाललाई पुरस्कृत गरेको छ ।

पत्रकारहरुलाई नगद, प्रमाण पत्र र खादा सहित सम्मान गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?