तानसेनमा जेठ १२ गतेदेखि ‘पाल्पा गोल्ड कप’ हुने

पाल्पा, सदरमुकाम तानसेन स्थित टुँडिखेल मैदानमा ‘पाल्पा गोल्ड कप’ फुुटबल प्रतियोगिता हुने भएको छ । जेठ १२ देखि २७ गते सम्म राष्ट्रियस्तरको तत्कालिन जनरल कर्णेल उजीर सिंह थापाको सम्झनामा पाल्पा गोल्ड हुन लागेको हो ।

प्रतियोगितामा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, स्याङ्गजा, कास्की, चितवन र काठमाडौका गरी १६ टिमको सहभागीता रहने आयोजक पाल्पा फुटबल संघले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पाल्पामा झण्डै ३३ वर्षपछि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख, पाल्पाली करुवा ट्रफी र मेडल पाउनेछन् । यस्तै दोस्रो हुने टिमले नगद १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार दिइने छ । उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिनेछ ।

संघले प्रतियोगिताको मुख्य प्रायोजकको लागि ७ लाख, सह–प्रायोजकका लागि ४ लाख र व्यानरका लागि १५ हजार सहयोगको अपेक्षा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । यस बाहेक विभिन्न आठ वटा विभिन्न उप–समिति गठन गरेर अघि बढेको जनाएको छ । प्रतियोगिताका लागि अखिल नेपाल फुटबलसंघलाई जानकारी गराइसकेको छ । एन्फाबाट आर्थिक सहयोग प्राप्त नभए पनि विभिन्न व्यक्ति, क्लब तथा स्थानीय निकायबाट सहयोग जुट्ने अध्यक्ष राणाले बताउनुभयो । प्रतियोगितामा १३ वर्षसम्मको बालवालिकालाई निःशुल्क प्रवेश दिइने छ । अस्थायी प्याराफिटमा बस्ने दर्शकले ७० रुपैयाँ तिर्नुपर्ने छ । ग्राउण्डका दर्शकले ५० रुपैयाँ तिर्नु पर्नेछ , जेष्ठ नागरिक, विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने छ । प्रतियोगिता अवधिभरका लागि २ हजार ५ सय रुपैयाँ तिर्नेले विशेष पास पाउनेछ । प्रतियोगितामा १५ खेल हुनेछ ।

वर्षौदेखि सुस्ताएको फुटबल प्रतियोगितालाई नयाँ ढंगले अघि बढाउँदै युवालाई खेलमैत्री भावनाको विकासका साथै स्वस्थ र सकारात्मक युवाहरु उत्पादन गरी राष्ट्र विकासमा योगदान दिने लक्ष्य रहेको पाल्पा गोल्डकपका सल्लाहकार तथा पुराना खेलाडी अशोकमान महर्जनले बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले खेलाडीलाई हौसला प्रदान गर्ने खालका राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरेर लामो समयपछि फुटबलको इतिहासलाई पुनः सम्झाउन खोजिएको बताउनुभयो । प्रतियोगिता सफल बनाउन संस्थागत र व्यक्तिगत रुपमा पूर्ण सहयोग रहने बताउदै उपाध्यक्ष घिमिरेले नगद २५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष रेखीराम रानाले प्रतियोगिताले सुस्ताउँदै गएको अर्थतन्त्रमा सुधार हुने बताउनुभयो । उहाँले यस प्रतियोगिताले गर्दा पाल्पामा खेलकुद पर्यटनको विकास हुने बताउनुभयो । पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष उत्तम बज्राचार्य, नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष माधव अर्याल, नेपाल प्रेस युनियनकी जिल्ला अध्यक्ष मन गहिरे लगायतले लामो समयपछि पाल्पा गोल्डकप हुने सबैको लागि खुसीको कुरा भएको बताएका थिए ।

कार्यक्रममा प्रेस चौतारीका जिल्ला सचिव नारायाण न्यौपाने, प्रेस सेन्टरका कोषाध्यक्ष कमल अधिकारी, पाल्पाली संगम काठमाडौंका पूूर्व अध्यक्ष पदम न्यौपाने, पत्रकार कृष्ण पोखरेल, अनिल लिगल लगायतले प्रतियोगिताका कारण पाल्पाको फुटबल इतिहास पुनः सम्झाउने प्रयास भएको बताए । पत्रकार सम्मेलन संघका अध्यक्ष प्रणय विरजंग राणाको अध्यक्षता, प्रथम उपाध्यक्ष मनोल लिगलको स्वागत, सञ्चार उपसमितिका संयोजक करण चित्रकारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?