बजेट तथा अन्य वित्तिय विषयहरु सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम रामपुरमा सम्पन्न

पाल्पा , बजेट तथा अन्य वित्तिय विषयहरु सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको अयोजना र कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले राजश्व र बजेटको स्रोत पहिचान गर्न नसक्दा स्थानीय तहको बजेट निर्माणमा प्रभाव पर्ने बताउनुभयो । स्थानीय तहमा आन्तरिक स्रोतको पहिचान गरि राजश्व संकलन गर्न नसक्दा सोँचे अनुसारको आन्तरिक आम्दानी गर्न नसकेको बताउनु भएको छ । उहाँले संघ तर्फको बजेट भए पनि समयमा खर्च हुन नसक्नु दुखद पक्ष रहेको उल्लेख गर्नुभयो । साथै अभिमुखिकरण कार्यक्रमले बजेट निर्माणमा अपनाउनु पर्ने प्रक्रिया , राजश्व संकलन , योजना संचालन तथा भुक्तानी लगाएतका विषयमा प्रष्ट पारेको बताउनुभयो ।

कार्यक्रमको सहजिकरण गर्दै कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख शशीन्द्र खातिले पाल्पाका हरेक स्थानीय तहले अनुमान गरे भन्दा धेरै कम आन्तरिक आम्दानी गरेको बताउनुभयो । साथै यसले पालिकाको योजना निर्माण , संचालन संगै समग्र पालिकाको विकासमा प्रभाव पार्ने भन्दै आन्तरिक स्रोतको सही पहिचान गरि बजेट निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कर राजश्व बृद्धि तथा पालिका र विभिन्न निकाय विचको अन्तर सम्बन्ध , आन्तरिक कर व्यवस्थापन ,योजना बजेट तर्जुमाका चरण , बजेटको पूर्व तयारी , बजेट सिमा निर्धारण गर्ने विधि लगाएतका विषयमा सहजिकरण गरिएको थियो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको संचालनमा सम्पन्न भएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिका भित्रका वडा अध्यक्ष ,जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?