कृषि ज्ञान केन्द्र पाल्पा बाट रामपुर नगर भित्र अनुदान प्राप्त फर्म तथा सिंचाई योजनाको अनुगमन

 


पाल्पा, कृषि ज्ञान केन्द्र पाल्पा मार्फत चालु आर्थिक वर्षमा रामपुर नगर भित्र अनुदान प्राप्त फर्म तथा सिंचाई योजनाको विहिबार अनुगमन गरिएको छ ।ज्ञान केन्द्र बाट मागमा आधारित कार्यक्रमका लागि अनुदान प्राप्त कृषि फार्म तथा सिंचाई योजनाको सरोकारवालाहरुले अनुगमन गरेको हो ।

रामपुर नगरपालिका वडा नं ४ स्थित तल्लो बडमान कृषक समुहले ज्ञानकेन्द्रको सहयोगमा निर्माण गरेको दुई सय १२ मिटर पक्की कुलो निर्माण योजना, वडा नं ४ कै देविस्थानमा रहेको रामपुर नर्सरी एण्ड एग्रोफार्मको टनेलमा तरकारी खेती पुष्प व्यावसाय, मागमा आधारित कृषि विकास कार्यक्रम अन्तर्गत वडा नं १० मा रहेको सिंजाली कृषि फार्मको टनेलमा तरकारी खेतीको अनुगमन गरिएको हो । लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशिका गैरे, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्मा, जिल्ला समन्वय समितिका अधिकारी जनार्दन अधिकारी, कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी, सुन्तला जात फलफुल विकास केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत दिपक भट्टराई, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाई कार्यालय पाल्पाका प्रमुख टुकबहादुर थापा, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गाप्रसाद खनाल सहित पत्रकारहरुको टोलीले अनुगमन गरेका थिए ।

कृषि ज्ञानकेन्द्रले मागमा आधारित कार्यक्रम अन्तर्गत टनेल खेतीका लागि अनुदान प्रदान संगै कृषि समुह मार्फत सञ्चालित सिंचाई आयोजना सञ्चालन गरेको थियो । अनुदान तथा योजना मार्फत व्यवसायीक कृषि तथा बाली उत्पादनमा सहजता ल्याएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो । साथै कृषि फर्म सञ्चालनको अवस्था सिंचाई योजनाले पारेको प्रभाव, उत्पादनको अवस्था, बजारको अवस्था र कृषकको लागि आवश्यक कार्यक्रमको बारेमा विषयमा पनि अनुगमन टोलीले संवाद गरेको थियो ।


यस्तै बुधबार जनप्रतिनिधि सहित प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले रामपुर नगरपालिका वडा नं २ को बाँदरकुना क्षेत्रको अनुगमन गरेको छ । निस्दीखोलाले कटान गरेको बाँदर कुना क्षेत्रको जोखिम न्युनिकरण गर्न रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको टिमलाई अनुरोध गर्नुभएको थियो । खोलाले धार नै परिवर्तन गरी बाँदरकुना क्षेत्रको भाग कटान गरेकाले यसले उच्च जोखिम निम्त्याएको हुँदा जतिसक्दो चाँडो जोखिम न्युनिकरणका लागि सम्बन्धित निकाय बाट पहल कदम चाल्ने अनुगमन टोलीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?