नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाको अध्यक्षमा पुनः अर्याल

पाल्पा, नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा पुनः माधव अर्याल चयन हुनु भएको छ । शुक्रबार मञ्चको साधारणसभा तथा जिल्लामा खेलकुद पत्रकारितमा रुचि राख्ने पत्रकारहरुको भेलाले कान्तिपुर दैनिकका उपसम्पादक अर्याललाई सर्वसम्मत रुपमा  चयन गरेको हो ।

भेलाले उपाध्यक्षमा उज्यालो नेटवर्कका संवाददाता एवं श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैया, सचिवमा माडी भ्यु न्यूज डटकमका संचालक बिजय बौडेल, कोषाध्यक्षमा नयाँधार डटकमका संचालक कमल अधिकारी र सहसचिवमा कटुवाल खबरका प्रधानसम्पादक दुर्गेस मल्ल रहनु भएको छ । सदस्यमा करुवा अर्धसाप्ताहिकका सम्पादक कृष्ण कार्की, रेडियो नेपालका संवाददाता विष्णु खनाल र पाल्पा आवाजका संचालक दयाराज न्यौपानेलाई चयन गरेको छ । एक सदस्य मनोनित गर्न बाँकी रहेको छ । नवनिर्वाचित अध्यक्ष अर्यालले विगतमा मञ्चले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिदै खेलकुद पत्रकारिताको विकासको लागि तालिम तथा अन्य रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सबैको साथ र समन्वयमा मञ्चको गतिविधिलाई थप सक्रिय बनाउँदै जाने बताउनुभयो ।

भेला तथा साधारण सभाको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले मोफसलका पत्रकारहरुले समाजका समग्र विषय समेट्नु पर्ने बाध्यता हुँदा पूर्ण ज्ञानको अभावमा खेलकुदका विषय उठानमा समस्या भएको बताउनुभयो । उहाँले मञ्चले पत्रकारहरुलाई आवश्यक गाईडलाईन प्रदान गर्न सके खेलकुद पत्रकारिताको विकासमा टेवा पुग्ने बताउनुभयो ।

नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य प्रजित शाक्यले खेलकुद पत्रकारिता प्राविधिक विषय भएकाले पनि यसक्षेत्रमा रुचि जगाउनका लागि मैदान मै पुगेर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यागत पत्रकारितामा खेलकुदले अलग्गै पहिचान गराएकाले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्व रहेको बताउनुभयो । साथै उहाँले मञ्चको दायरा फराकिलो हुँदै गएको बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले समन्वयकारी भूमिका निर्वाह गर्दै खेलकुदको क्षेत्रलाई पत्रकारितामा जोड्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । सरकारको नीतिका कारण सरकारको खेल क्षेत्रको विकास पछि परेको उल्लेख गर्नुभयो । उहाँले पाल्पामा राष्ट्रियस्तरका खेल खेलाउने तयारी भैरहेको र यसमा खेलकुद पत्रकारिता क्षेत्रबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष एवं नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाका सल्लाहाकार भरत शर्मा, प्रेस चौतारी नेपाल पाल्पा शाखाका सचिव नारायण न्यौपाने, प्रेस सेन्टर नेपाल पाल्पाका कार्यवाहक अध्यक्ष नवराज ज्ञवाली लगायतले खेलकुद पत्रकारिताका विषयमा धेरै पत्रकारलाई बुझाउका लागि तालिमको आवश्यकता रहेको बताउँदै नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको सभाहलमा भएको भेला नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाका अध्यक्ष माधव अर्यालको अध्यक्षता, उपाध्यक्ष अनिल लिगलको स्वागत र सचिव देव पचभैयाको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?