नेपाल मगर संघ रामपुर सहित विभिन्न मगर समुह द्वारा आगलागी पिडितलाई सहयोग प्रदान

पाल्पा, नेपाल मगर संघ रामपुर नगर कार्यसमिति, वडा कार्य समिति तथा विभिन्न मगरसमुहले आगलागी पिडितलाई रकम सहयोग गरेको छ । रामपुर नगरपालिका–९ मधुकोट पाल्पाका आगोलागी पिडित परिवारलाई नेपाल मगर संघ रामपुर नगर समिति, क्रियाशिल मगर उत्थान समुह रामपुर ७ किसानबारी, दियो मगर समुह एवं नेपाल मगर संघ रामपुर ७ र नेपाल मगर संघ रामपुर ७ ले शनिबार संयुक्त रुपमा रकम सहयोग गरेको हो ।

गत बैशाख २६ गते भएको आगोलागी बाट पिडित बनेका ५ घर परिवारलाई गाउँमै पुगेर सहयोगरकम प्रदान गरेको हो । नेपाल मगर संघ रामपुर नगर समिति मार्फत १७ हजार १ सय ५, दियो मगर समुह र नेपाल मगर संघ रामपुर ६ मार्फत ११ हजार २ सय ७५, क्रियाशिल मगर उत्थान समुह रामपुर ६ बाट १० हजार र नेपाल मगर संघ रामपुर ७ बाट ५ हजार ७ सय ५० गरी ४४ हजार १ सय ३० रकम पिडितहरुको लागि सरोकारवालाहरुको उपस्थितिमा हस्तान्तरण गरेको थियो । नेपाल मगर संघ रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापा, सहअध्यक्ष भोज बहादुर राना, सल्लाहाकार देव बहादुर थापा मश्राङ्गीले विपद् व्यवस्थापन समितिका संयोजक एवं रामपुर नगरपालिका ९ का वडा अध्यक्ष डिल बहादुर राना र पिडित परिवारलाई रकम हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा संघका सदस्य डम्बर बहादुर गाहा, खेम बहादुर खन्गाहा, नेपाल मगर संघ रामपुरका ५ का अध्यक्ष सुवेदार बालु राना, वडा नं. ७ का अध्यक्ष चेत बहादुर हिस्की, वडा नं. ९ का हेम कुमारी थापा, क्रियाशिल मगर उत्थान समाजका अध्यक्ष रेम बहादुर राना, दियो मगर समुहका विपना सारु र सोम बहादुर थापा सहित नेत्र बहादुर गाहा र विक्रम राना लगाएतको उपस्थिति रहेको थियो । संघका अध्यक्ष राम बहादुर हिस्की थापाले आगोलागी पिडित परिवारलाई नआत्तिन आग्रह गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । विपद् भन्ने कुरा कति बेला आउँछ भन्ने थाहा नहुने भन्दै उहाँले पिडित परिवारको पिडामा मल्हम लगाउन सहयोगको लागि उपस्थित भएको बताउनुभयो ।

पिडित परिवारको लागि सहयोग गर्ने संस्था तथा समुहलाई धन्यवाद दिदै रामपुर नगरपालिका–९ का वडा अध्यक्ष डिल बहादुर रानाले एक द्वार प्रणाली बाट रहत संकलन भैरहेको जानकारी दिनुभयो । रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन नेपाल मगर संघ रामपुरका सचिव कमल रानाले गर्नु भएको हो । गत बैशाख २६ गते भएको आगोलागीले ५ परिवार बस्दै आएको दल बहादुर साठीघरे, ऐतुराम साठीघरे, खेम बहादुर साठीघरे र लोक बहादुर साठीघरेको घर जलेर नष्ट भएको थियो । जंगल बाट आएको आगो बस्तीमा पसेपछि घर संगै अन्न, लत्ताकपडा, नगद तथा गरगहना सहित ६८ लाख भन्दा बढीको क्षति भएको छ । आगो बाट १ वटा बंगुर र ७ वटा बाख्राको पाठापाठी जलेको थियो । आगो निभाउने क्रममा दल बहादुर साठीघरे र उहाँको बुहारी लक्ष्मी साठीघरे घाईते भएको थियो । घाईतेहरुको रामपुर अस्पतालमा उपचार भैरहेको छ । आगोलागी बाट घर नष्ट भएपछि पिडित परिवार छिमेकी र नजिकैको विद्यालयमा आश्रय लिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?