आवधिक योजना तर्जुमा सहित ३ दिने कार्यशाला गोष्ठी रामपुरमा सम्पन्न

पाल्पा , रामपुर नगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धि ३ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

रामपुर नगरपालिकाको आगामी पाँच बर्षका लागि अवश्यक योजना तथा बजेट अनुमान सहित गोष्ठि शनिबार सम्पन्न भएको हो । नगर भित्रका वडा अध्यक्ष , जनप्रतिनिधि, विभिन्न राजनितिक दल , विषयका विज्ञ ,विषयगत शाखाका प्रमुख तथा कर्मचारी , पत्रकार लगाएत सरोकारवालाहरुको सहभागिता रहेको कार्यशालामा आगामी ५ बर्षका लागि नगरमा संचालन गर्नु पर्ने योजना र अनुमानित बजेट प्रस्तुत गरिएको थियो । कार्यशालामा नगरको पूर्वाधार विकास , समाजिक विकास , आर्थिक विकास , वन तथा वातावरण एवं विपद व्यवस्थापन , संस्थागत सुशासन तथा व्यवस्थापन र समष्टिगत क्षेत्रका विभिन्न योजनाका विषयमा सामुहिक रुपमा छलफल गरिएको थियो । कार्यशालाले “सुखी समृद्ध सुसंस्कृत शहर , सम्मुन्नत रामपुर हाम्रो रहर ”भन्ने नारा तय गर्दै आगामी ५ बर्षका लागि विभिन्न योजना माथि छलफल गरेको हो । कार्यशालामा नगरको कृषि , शिक्षा , स्वास्थ्य , पर्यटन , वन तथा वातावरण , सडक ,भौतिक पूर्वाधार निर्माण , खेलकुदको विकास , राजश्व लगाएतका क्षेत्रमा संचालन गरिने योजना र बजेट प्रस्तुत गरिएको थियो ।

 

कार्यशालाको समापन गर्र्र्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कार्यशालाबाट तय भएका योजनालाई कार्यान्वयन गर्न सके मात्र सुखी समृद्ध सुसंस्कृत शहर , सम्मुन्नत रामपुर हाम्रो रहर भन्ने नाराले सार्थकता पाउने बताउनुभयो । उहाँले नगरको विकास र समृद्धिका लागि सवै क्षेत्रको समन्वय र सहकार्य गरेर अगाडी बढ्न आफू तयार रहेको बताउनुभयो । नगर प्रमुख थापाले भन्नुभयो – “सामुहिक योजना बनाएर अगाडी बढे नगरको विकास सम्भव छ , हरेक योजना सञ्चालन र कार्यान्वनका लागि सवैको एउटै आवाज हुनुपर्छ । ” साथै उहाँले धेरै योजना संचालन गर्नु भन्दा पहिचान दिने खालका योजना सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । सबै क्षेत्रमा टुक्रे योजना संचालन गर्दा दिर्घकालिन रुपमा परिणाम नदेखिने भएकाले वडाले पनि वडाको पहिचान दिने खालका योजना बनाउन र धेरै योजना माग नगर्न आग्रह गर्नु भएको छ । उहाँले धेरै योजना माग गर्ने र योजना राख्नु पर्ने बाध्यता रहेको भन्दै अब सबैको समन्वयमा पहिचान र परिणाम देखिने योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा नेपाल सरकारका पूर्व सहसचिव एवं विज्ञ कृष्ण प्रसाद पौडेलले विकासको खाका तयार भएकाले यसलाई आधार मानेर नगरको योजना तय गर्न आग्रह गर्नुभयो । उहाँले नगर भित्र रहेका स्रोत साधनको उच्चतम प्रयोग गरेर नगरको कायाप्लट गर्नु पर्ने बताउनुभयो । कार्यशालामा नेकपा एमाले रामपुर नगर कमिटि अध्यक्ष विष्णु प्रसाद रेग्मीले कार्याशालाको क्रममा छलफल भएका कतिपय योजना नमिलेकाले संशोधन सहित कार्यान्वयनको पक्षमा जोड दिनु पर्ने बताउनु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टि रामपुरका सभापति अर्जुन प्रसाद श्रेष्ठ , नेकपा एकिकृत समाजवादीका जिल्ला सहसचिव कमल सेन , राष्ट्रिय प्रजातन्त्र पार्टिका बृहस्पति अर्यालले बोल्दै सबै संग समन्वय गरेर योजना तय गरि नगरको समुन्नत विकासमा लाग्नु पर्ने बताउनु भएको छ ।

रामपुर नगरपालिकाको आयोजना , प्रदेश सुशासन केन्द्र बाँकेको प्राविधिक सहयोग र सेफ ईन्जिनियरिङ कन्सल्टेन्सिको सहजिकरणमा कार्यशाला सम्पन्न भएको हो । विहिबार देखि चलेको ३ दिने कार्यशाला गोष्ठिको सहजिकरण सेफ ईन्जिनियरिङ कन्सल्टेन्सिका कन्सल्टेन्ट किशोर रिजाल र शालिकराम पोखरेलले गर्नु भएको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?