धनबहादुर ठाडा
पाल्पा, शैक्षिक सुधारका लागि पाल्पाको निस्दी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम भएको छ । निस्दी गाउँपालिकाको आयोजनामा गत जेठ १ गते निस्दी-१ बाकामलाङ बाट शुरु भएको वडा स्तरीय अन्तरक्रिया आइतबार मित्यालमा भए संगै वडा स्तरीय अन्तरक्रिया सम्पन्न भएको हो ।
निस्दी -४, मित्यालमा भएको अन्तरक्रियामा बोल्दै निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले निस्दीमा गाउँ शिक्षा ऐन तथा नियमावली बनाउने प्रक्रियामा रहेकोे जानकारी दिनुभयो । अध्यक्ष सारुले सिकाई उपलब्धि वृद्धिको लागि सबैभन्दा महत्त्वपूर्ण भुमिका शिक्षकको रहने भएकोले आफ्नो पेशाप्रति जिम्मेवार भएर लाग्न अनुरोध गर्नुभयो । निस्दीमा शैक्षिक सुधारको लागि तल्लो तहबाट शुरूवात अावश्यक रहेको भन्दै अध्यक्ष सारुले आगामी दिनमा सबै पक्षलाई समेटेर अगाडि बढने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले शैक्षिक सुधारका लागि सबै पक्ष मिलेर अगाडि बढनुपर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले शिक्षक समाजको ऐना रहेको बताउनुहुँदै शैक्षिक अभियान्ताका साथै गुणस्तरीय शिक्षामा शिक्षकको भुमिका महत्त्वपूर्ण रहने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या घट्दैमा चिन्तित हुनु नपर्ने बताउनुहुँदै थोरै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकेमा विद्यार्थी संख्या आफै वृद्धि हुने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका मन प्रसाद सोती, नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीका अध्यक्ष लोक बहादुर सारु, गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारी लगायतले बोल्नुहुँदै निस्दीमा शैक्षिक सुधारका लागि सञ्चालन गरेको यो अभियान प्रशंसनिय रहेको बताएका थिए ।
अन्तरक्रियामा शैक्षिक शत्र २०७९ सालको शैक्षिक उपलब्धिको समिक्षा, भावी कार्ययोजना, बालमैत्री विद्यालयको सुचक बारे छलफल गरिएको थियो । अन्तरक्रियामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रत्येक विद्यालयका शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो । निस्दी-४ का वडा अध्यक्ष सन्तवीर सुनारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डे, निस्दी गाउँपालिकाका बाल कल्याण अधिकृत कुश्माखर पाण्डे र शिक्षा शाखा संयोजक नर बहादुर थापाले गर्नुभएको हो । निस्दीमा हाल ५२ वटा सामुदायिक विद्यालय रहेको छ ।