रामपुरका ५२ प्रतिशत सामुदायिक वन डढेलोले सखाप, वन पैदावार जलेपछि उपभोक्तालाई सास्ती

इमान सिं राना
पाल्पा, ठूलो वन सामुदायिक वन रामपुर नगरपालिका–३ मा २०४८ साल यता कहिल्यै आगोलागी भएको थिएन । खडेरी संगै वन क्षेत्रमा लागेको डढेलो बाट यस वर्ष ७९ दशमलव ०९ हेक्टर क्षेत्रफलमा फैलिएको ठूलो वन पनि बच्न सकेन ।

गत वैशाख २८ गते अपरान्ह वनमा आगो लागेको थाहा पाउने वित्तिकै आगो नियन्त्रणमा लिन उपभोक्ता, प्रहरी, सेना र रामपुर सवडिभिजन वन कार्यालयका कर्मचारी खटिए पनि वषौं देखि वन क्षेत्रमा थुप्रिएको पातपतिङ्गर र हावाको अघि कसैको केही लागेन् । डढेलोले वन पैदावार सखापै भए भयो । वन क्षेत्र नजिकको वस्ती बचाउन हम्मे हम्मे प¥यो । ठूलो वन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यज्ञमूर्ति घिमिरे भन्नुहुन्छ, “सामुदायिक वनको अवधारणा अनुसार वन संरक्षणको कार्य सुरु भए पछि अहिले सम्म ठूलो वनमा डढेलो लागेको थाहा थिएन । यस पटक डढेलो बाट हाम्रो वनलाई बचाउन सकिएन ।” अहिले त्यस वनमा निर्भर रहेका ४ सय ११ उपभोक्ता घाँस तथा दाउराका लागि समस्या झेल्न बाध्य छन् ।

ठूलो वन त उदाहरण मात्र हो । लामो समयको खडेरीका कारण रामपुर नगपालिका भित्रका ५२ प्रतिशत बढी सामुदायिक वनको अवस्था उस्तै छ । गत चैत्र १५ देखि हाल सम्म लागेको वन डढेलोले नगर भित्रका ३८ वटा वन क्षेत्र प्रभावित भएको रामपुर सवडिभिजन वन कार्यालयका प्रमुख सुजनराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार विगतका वर्ष बढिमा १० प्रतिशत वनमा मात्र डढेलोको समस्या हुने गरेकोमा यस वर्ष अत्याधिक डढेलोको समस्या देखिएको बताउनुभयो । “नगर भित्रको ७२ सामुदायिक वन मध्ये ३८ सामुदायिक वनमा डढेलोको लागेको थियो । जसमा १४ वटा सामुदायिक वनमा आंशिक र २४ वटा सामुदायिक वन पूर्ण रुपमा आगलागी भएको पाईएको छ । वर्षाद पछि आगोलागीको घटना कम भए पनि जोखिम अझै कायम रहेकाले सावधानी अपनाउनु आवश्यक छ ।” उहाँले भन्नुभयो ।

रामपुर नगर भित्रका सामुदायिक वन मध्ये कालीगण्डकी किनार क्षेत्रका वन डढेलो बाट जोगिए पनि माथिल्लो भागका अधिकांश जंगलमा डढेलोले वन सखाप पारेको छ । चैत्र १५ पछि देखि अधिकांश जंगलमा डढेलोको समस्या देखिको थियो । केही सामुदायिक वनमा उपभोक्ताहरु आगो निभाउन निकै सक्रिय भए पनि कतिपय स्थानमा भने उपभोक्ताहरु उपस्थिति कम हुनुका साथै भिरालो जमिनमा लागेको आगो नियन्त्रणमा समस्या हुँदा वन जोगाउन समस्या भएको भण्डारीले बताउनुभयो । “स्थानीय तहको सहयोग पूर्ण रुपमा प्राप्त थियो । जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, वनका कर्मचारी र उपभोक्ताहरु खटिए पनि भिरालो जमिनमा आगो लाग्नुका साथै सो समयमा हावा चल्दा समस्या भयो । बस्तीहरु बचाउन निकै समस्या भयो । अधिकांश स्थानमा वस्ती बचाउन व्याक फाएर गर्नुको विकल्प भएन । सोही विधि बाट आगो नियन्त्रणमा लियौं ।”

लामो समयको खडेरी, बारी तथा आफ्नो जग्गामा आगो सल्काउँदा सावधानी नअपनाउनु तथा जंगल संग जोडिएका सडकमा हिड्नेहरुले चुरोट तथा अन्य आगो जन्य प्रदार्थ प्रयोगमा लापार्वाही गर्दा डढेलोको समस्या देखिएको उहाँको निस्कर्ष छ । डढेलो बाट बचेका वन तथा डढेलो लागिसकेका वन क्षेत्रमा अझै पनि जोखिम रहेकाले निगरानी र सजगता बढाउनु आवश्यक रहेको उहाँको भनाई छ । वन क्षेत्रमा डढेलोले सामुदायिक वन संगै आसपासका निजी वन, राष्ट्रिय वन समेत जलेका छन् । वन क्षेत्रमा लागेको आगो वस्तीमा सल्किएर गत बैशाख २६ मा रामपुर ९ मधुकोटमा ४ घर जलेर नष्ट भएको थियो । अन्य स्थानमा भने अप्रिय घटना हुन पाएन ।

रामपुर नगर भित्रका ७२ सामुदायिक वन ३ हजार ३ सय ४७ हेक्टरमा फैलिएको छ । जसका कारण रामपुर क्षेत्रको वनका उपभोक्तालाई यति बेला घाँस दाउरा खोज्न समस्या भएको छ । आगालागी बाट वन बचाउन उपभोक्ताहरु सजग हुने पर्ने देखिएको छ । वनमा आगलागी हुँदा वन पैदावार सबै जलेर नष्ट हुँदा यतिवेला उपभोक्तलाई घाँस, दाउरा गर्न समेत गाह्रो भएको छ । यस वर्ष देशैभर डढेलोले अधिकांश स्थानमा वन नष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?