पाल्पा, पाल्पाको रामपुरमा एक दिने वैदेशिक रोजगार अभिमुखिकरण कार्यक्रम भएको छ । वैदेशिक रोजगारीमा जान चाहाने युवाहरुको लागि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, व्यवसायीक सीप विकास तालिम प्रतिष्ठान बुटवलको आयोजनामा र रामपुर नगरपालिका वडा नं. ६ को समन्वयमा कार्यक्रम भएको हो ।
नमस्ते पाल्पा होटेल एण्ड लजको सभाहलमा भएको कार्यक्रमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वदेशमै रोजगारी सृजना हुन नसकेकाले युवा शक्तिलाई वैदेशिक रोजगारीमा पठाउनु पर्दा नमज्जा लागेको बताउनुभयो । उहाँले युवा शक्तिलाई आफ्नै माटोमा आत्मनिर्भर बनाउन स्थानिय तहले पनि प्रयास गरिरहेको बताउनुभयो । पछिल्ले समय विदेशमा जे काम गर्न पनि तयार तर स्वदेशमा त्यही काम नगर्ने प्रवृत्ति बढ्दो क्रममा रहेको भन्दै अब सोच परिवर्तनको खाँचो औल्याउनुभयो ।
नेपालमा केही हुदैन विदेश नै जानू पर्छ भन्ने मानसिकता रहेको तर सबैले काम गरे आफ्नो ठाउँ बन्छ बनाउन सक्छौ भन्ने भन्ने मानसिकता बनाउनु आवश्यक रहेको बताउनुभयो । नगरपालिकाले युवाहरुलाई उद्यमी बनाउन प्रयास गरे पनि काम गर्ने उद्यमी पाउन नसक्दा युवा स्वरोजगार कार्यक्रममा छुट्टयाइएको बजेट पनि खर्च हुन नसकेको यथार्थता बारे जानकारी गराउँदै काम गर्न वातावरण तयार गर्न नगरपालिकाले पहल गरिरहेको उल्लेख गर्नुभयो । विदेश जाने युवाहरुको लागि यो तालिम प्रभावकारी हुने थापाले बताउनुभयो ।
रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले मुलुकको विकास र समृद्धिमा युवाको भुमिका महत्वपूर्ण रहेको भन्दै वैदेशिक यात्रामा जाँदा सीप र दक्षता हासिल गरेर मात्र जान आग्रह गर्नुभयो । उहाँले सकारात्मक सोचका साथ अघि बढ्न सके स्वदेश मै प्रचुर सम्भावनाहरु रहेको स्मरण गराउनुभयो । व्यवसायीक सीप विकास तालिम प्रतिष्ठान बुटवलका शाखा अधिकृत सुमन पन्तले स्वदेशमा रोजगारी सृजना हुन नसक्दा सम्म अबको केही समय युवाहरुको लागि वैदेशिक रोजगार हाम्रो बाध्यता रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीको लागि जान लागेका युवाहरु न्यूनतम ज्ञानको अभावमा समस्यामा पर्ने गरेको भन्दै सजताको लागि अभिमुखिकरण प्रदान गरिएको बताउनुभयो ।
रामपुर नगरपालिका ६ सहित विभिन्न स्थानका युवाहरुको सहभागीता रहेको कार्यक्रममा व्यवसायीक सीप विकास तालिम प्रतिष्ठान बुटवलका शाखा अधिकृत सुमन पन्त, प्रशिक्षकहरु राजु पन्थी, दिपक नेपाली र भोजराज न्यौपानेले सहजिकरण गर्नु भएको थियो । उहाँहरुले वैदेशिक रोजगारीमा जानु अघि हुने प्रक्रिया, श्रमस्वीकृति, मेन पावर छनौट, कामको प्रकृति, प्लेनमा चढ्दा तथा गन्तव्य मुलुकमा पुगे ध्यान दिनु पर्ने कुरा, भने अनुसारको काम नभएमा सम्पर्क राख्ने तरिका, राजदुतावास संगको समन्वय लगाएतका विषयमा अभिमुखिकरण प्रदान गर्नु भएको थियो । व्यवसायीक सीप विकास तालिम प्रतिष्ठान बुटवलका शाखा अधिकृत सुमन पन्तको अध्यक्षतामा भएको कार्यक्रम प्रशिक्षक राजु पन्थीको स्वागत र भोजराज न्यौपानेको सञ्चालनमा भएको हो । त्यस्तै कार्यक्रममा बुधबार रामपुर नगरपालिका ५ र विहिबार रामपुर नगरपालिका ७ का युवाहरुलाई अभिमुखिकरण प्रदान गर्ने कार्यक्रम रहेको छ ।