
पाल्पा, पूर्वखोला गाउँपालिका वडा नं. ६ स्थित हेक्लाङ्गमा स्वास्थ्य चौकीको नवनिर्मित भवनको उट्घाटन भएको छ । प्रतिनिधीसभा सदस्य नारायण प्रसाद आचार्य र लुम्बिनी प्रदेशसभा सदस्य खेम बहादुर सारुले स्वास्थ्य चौकी भवनको संयुक्त रुपमा उट्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन गर्दै प्रतिनिधीसभा सदस्य आचार्यले भौतिक संरचना निर्माण र गुणस्तरीय सेवा प्रदान गर्न गाउँपालिका लागि परेको बताउनुभयो । उहाँले पुर्वखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नमुना काम गरेको बताउँदै निर्माण भएका संरचनाको संरक्षणमा स्थानीय आफै चनाखो हुनुपर्ने बताउनुभयो । भौतिक संरचना निर्माण र गुणस्तरीय सेवा प्रदान गर्न गाउँपालिका लागि परेको बताउनुभयो । उहाँले कार्यक्रममा प्रदेशसभा सदस्य सारुले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सुरु देखि नै पुुर्वखोला गाउँपालिका लागिपरेको बताउँदै जनअपेक्षा अनुसारको राम्रो शिक्षा र स्वास्थ्यमा सुधार अझै भई नसकेको भन्दै गुणस्तरीय शिक्षा र मजबुत स्वास्थ्य क्षेत्रका लागि प्रदेश सरकारले समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले विभिन्न कठिनाइ सहेर पनि योजनाअनुसार काम गर्न सफल भएको बताउँदै यसलाई सचेतपूर्वक उपयोग गर्न आग्रह गर्नुभयो । स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीयले गरेको सहयोगलाई सकारात्मक रूपमा लिएको र स्थानीय सरकार पनि स्वास्थ्य चौकी भवन र्निर्माणमा सक्रिय भएर लागेको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले भवन निर्माण पश्चात स्वास्थ्यकर्मी कर्मचारी, सेवाग्राही सबैलाई पनि ठूलो राहत मिलेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराई, विभिन्न राजनैतिक दलका प्रतिनिधी, वडाध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु, स्थानीय सरोकारवालाहरु लगाएतले स्वास्थ्य चौकी भवन उद्घाटन हुनु हेक्लाङ्गबासीहरुका लागि खुसीको कुरा भएको बताएका थिए । कार्यक्रममा भेला भएका स्थानीय नागरिकहरु स्थानीय क्षेत्रमा गुणस्तरिय सेवा सहितको स्वास्थ्य चौकी भवन पाएपछी उत्साहित भएका छन् । स्वास्थ्य चौकीको नयाँ भवन बनेपछि स्वास्थ्य स्वंयसेविकाहरु पनि हर्षित भएका छन् । बिरामीलाई स्वास्थ्य जाँच गर्न जाऔं भन्न पनि सजिलो भएको स्वास्थ्य स्वयम्सेविकाहरुले बताएका छन् ।
कार्यक्रम कै अवसरमा पालिकाले स्वास्थ्य चौकी भवन निर्माणका लागि निशुल्क जग्गा दान गर्ने व्यक्तिहरुलाई प्रमाणपत्र, खादा र मालाले सम्मान गरेको छ । त्यस्तै स्वास्थ्य चौकीमा बच्चाको नियमित तौल जाँच गर्न आउने आमा तथा बच्चाहरुलाई स्वास्थ्य तथा सरसफाईका सामग्री प्रदान गरिएको छ । स्वास्थ्य चौकी भवनको उद्घाटन संगै हेक्लाङ्गलाई पुर्ण खोप सुनिश्चितता वडा घोषणा तथा सुरक्षित गर्भपतन सेवाको सुरुवात समेत गरिएको छ ।
भवन निर्माणका लागि १ करोड ७ लाख ४६ हजार ८ सय ३६ रुपैंयामा २०७७ माघ १८ गते ठेक्का सम्झौता भएको थियो । २०७९ जेठ २० गते सम्पन्न हुनुपर्ने भवन कोभिडका कारण म्याद थप गरिएको थियो । भवन निर्माणका लागि संघिय सरकारको ७५ लाख, जिल्ला समन्वय समितिको ३० लाख र गाउँपालिकाको २५ लाख रुपैंया बजेट विनियोजन भएको थियो । त्यस्तै भवन मर्मतका लागि ५ लाख रुपैंया विनियोजन गरिएको छ ।