नेपाली कांग्रेस रामपुर नगरपालिका–७ को वडा सम्मेलन साउनेधारामा सम्पन्न

पाल्पा, नेपाली कांग्रेस वडा कार्यसमिति रामपुर नगरपालिका–७ पाल्पाको वडा सम्मेलन सम्पन्न भएको छ । पार्टीको विधानले व्यवस्था गरे बमोजिम जिल्ला कार्य समितिको सर्कुलर अनुसार बुधबार रामपुर–७ साउनेधारामा वडा सम्मेलन भएको हो ।

वडा सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य एवं लुम्बिनी प्रदेश सदस्य सन्दिप रानाले देशका राजनैतिक घटनाक्रम बाट विचलित नहुन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन गरी दोषीलाई कार्वाही हुने पर्ने बताउनुभयो । उहाँले पार्टीको अधिवेशन र निर्वाचन पश्चात संगठनमा केही सुस्तता देखिएको भन्दै फैलिएका भ्रमलाई चिर्दै जनतामाझ जान आग्रह गर्नुभयो । उहाँले कार्यकर्ताहरुलाई जनप्रतिनिधी संग सहकार्य गर्दै अघि बढ्न सुझाव दिनुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सहसचिव हमिद मियाँले संगठनलाई थप चलायमान बनाउन विधान अनुसार वडाहरुमा अहिले सम्मेलन भैरहेको जानकारी दिनुभयो । पार्टीको सिद्धान्तलाई आत्मसात गर्दै कार्यकर्ताहरुलाई अनुशासित भएर लाग्न अनुरोध गर्नुभयो । नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराईले पार्टीका पदाधिकारी, क्रियाशिल सदस्य तथा भातृसंगठनलाई थप जागरुक बनाउन आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि एवं रामपुर ७ का वडा सदस्य मिन बहादुर सिंजालीले जनताको माग र चु्नावको समयमा गरिएका प्रतिवद्धता अनुसार अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस वडा कार्यसमिति रामपुर नगरपालिका–७ पाल्पाका सभापति दुर्गा प्रसाद भट्टराईले वडा कार्य समितिको सांगठनिक अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । वडा कार्यसमितिका सभापति भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम वडा कार्यसमितिका उपसभापति क्यापटेन धन बहादुर रानाको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई वडा कार्य समितिका सचिव कृष्ण प्रसाद पाण्डेले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन वडा कार्य समितिका सचिव तिल बहादुर श्रेष्ठले गर्नु भएको हो । कार्यक्रममा पार्टीका पदाधिकारी, छोल सभापति, क्रियाशिल सदस्यहरुले आफ्ना राय व्यक्त गरेका थिए । वडा सम्मेलन पूर्व रामपुर ७ विरेन्द्रटार स्थित शहरी स्वास्थ्य केन्द्रको परिसर सरसफाई गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?