रामपुर नगरपालिका ५, ६ र ७ का युवाहरुलाई वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण प्रदान

पाल्पा, व्यवसायीक सीप विकास तालिम प्रतिष्ठान बुटवलले पाल्पाको रामपुरमा युवाहरुलाई वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण प्रदान गरेको छ । वैदेशिक रोजगारीको यात्रालाई सहज र सुरक्षित बनाउनका लागि विदेश जान चाहाने युवाहरुलाई अभिमुखिकरण प्रदान गरेको हो ।

रामपुर नगरपालिका वडा नं. ५ मा बुधबार, ६ मा मंगलबार र ७ मा विहिबार गरी युवाहरुलाई लक्ष्यित गरी वडा कार्यालयको समन्वयमा एक÷एक दिनको अभिमुखिकरण प्रदान गरिएको थियो । विहिबार वडा नं. ७ का युवाहरुको लागि प्रदान गरिएको अभिमुखिकरण कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले युवाहरुलाई उद्यमी बनाउन नगरपालिकाले तालिम तथा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले युवाहरुलाई सके सम्म आफ्नै ठाउँमा काम गर्न आग्रह गर्नुभयो । थापाले देशमा रोजगार सृजना नहुँदा विदेश जानु पर्ने बाध्यता कायमै रहेको भन्दै जाँदा प्रक्रिया बुझेर, कानुनी प्रक्रिया पार गरेर मात्र जान अनुरोध गर्नुभयो ।

रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारीले स्वदेश मै प्रचुर सम्भावना रहेकाले सके सम्म आफ्नै ठाउँमा काम गर्न सुझाव दिनुभयो । उहाँले विदेश जाने नै भए पूर्व तयारी गरी सीप सिकेर मात्र जान अनुरोध गर्नुभयो । व्यवसायीक सीप विकास तालिम प्रतिष्ठान बुटवलका शाखा अधिकृत सुमन पन्तले स्वदेशमा रोजगारी सृजना हुन नसक्दा सम्म अबको केही समय युवाहरुको लागि वैदेशिक रोजगार हाम्रो बाध्यता रहेको उल्लेख गर्दै विदेश जान प्रेरित गर्नु भन्दा पनि यात्रालाई सुरक्षित बनाउन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा व्यवसायीक सीप विकास तालिम प्रतिष्ठान बुटवलका शाखा अधिकृत सुमन पन्त, प्रशिक्षकहरु राजु पन्थी, दिपक नेपाली र भोजराज न्यौपानेले सहजिकरण गरेका थिए । वैदेशिक रोजगारीमा जानु अघि हुने प्रक्रिया, श्रमस्वीकृति, मेन पावर छनौट, कामको प्रकृति, प्लेनमा चढ्दा तथा गन्तव्य मुलुकमा पुगे ध्यान दिनु पर्ने कुरा, भने अनुसारको काम नभएमा सम्पर्क राख्ने तरिका, राजदुतावास संगको समन्वय लगाएतका विषयमा अभिमुखिकरण प्रदान गरिएको हो । व्यवसायीक सीप विकास तालिम प्रतिष्ठान बुटवलका शाखा अधिकृत सुमन पन्तको अध्यक्षतामा भएको कार्यक्रम प्रशिक्षक दिपक नेपालीको स्वागत र भोजराज न्यौपानेको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?