घर तथा भवन निर्माण सम्बन्धि अन्तरक्रिया रामपुरमा सम्पन्न

पाल्पा , घर तथा भवन निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम रामपुर नगरपालिकामा सम्पन्न भएको छ । पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति , रामपुरमा सञ्चालित ईन्जिनियरिङ कन्सल्टेन्सि र रामपुर नगरपालिका विच घर तथा भवन निर्माण सम्बन्धि छलफल सहितको अन्तरक्रिया बिहिबार सम्पन्न भएको हो ।

छलफलमा सहभागिले सुरक्षित र मजबुत निर्माणका लागि तिनै क्षेत्रको आपसी समन्वयको आवश्यकता रहेका बताएका छन् । साथै समन्वयको अभावमा बनिरहेका विभिन्न घर तथा भवन मापदण्ड अनुसार नबनेको र निर्माण सम्पन्न प्रमाण पत्र वितरण गर्न समस्या भएको बताएका छन् । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कानुन र व्यवस्थाको पालना गर्दै विपद्बाट क्षति नहुने सुरक्षित संरचना निर्माण गर्नु पर्ने बताउनु भएको छ । यसका लागि निर्माण व्यवसायी मजदुर , कन्सल्टेन्सी र रामपुर नरपालिकाका प्राविधिक विच समन्वयको आवश्यकता रहेको बताउनुभयो । नगर प्रमुख थापाले घर निर्माण गर्दा निर्माण व्यवसायी तथा मजदुर र कन्सल्टेन्सीले विषेश ध्यान दिन आवश्यक रहेको औँल्याउनुभयो । सुरक्षित निर्माणका लागि सबैले आ–आफ्नो जिम्मेवारी बहन गरेर काम गर्नु पर्ने बताउनुभयो । साथै नगरपालिका , कन्सल्टेन्सी र निर्माण व्यवसायीले घर निर्माण गर्ने घरधनीलाई सहज हुने तरिकाले काम गर्न पर्ने उल्लेख गर्नुभयो । उहाँले हरेक घर भवन निर्माण गर्दा भवन आचारसंहिता अनुसार निर्माण गर्न निर्देशन समेत दिनुभयो । आचारसंहिताको पालना नगरी घर भवन निर्माण गरे कडाईका साथ कारवाही गर्ने समेत चेतावनी दिनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले सुरक्षित र मजबुत भौतिक संरचनाका लागि निर्माण व्यवसायीको प्रमुख भुमिका हुने बताउनुभयो । साथै निर्माणको क्रममा नक्सा अनुसारको निर्माण कार्य भएको छ कि छैन भनेर निगरानी गर्ने काम ईन्जिनियरिङ कन्सल्टेन्सीको भएको र त्यसलाई नगरपालिकाले अनुगमन गर्ने बताउनुभयो । यस्तै रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष तथा पूर्वाधार विकास समितिका संयोजक दुर्गा प्रसाद पाखेरेलले आचारसंहिता अनुसार घर निर्माण गर्नका लागि घरधनीलाई परामर्श दिन आवश्यक रहेको भन्दै नक्सा पास भए अनुसार घर निर्माण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ भण्डारीले नगर भित्र बनेका घर भवनको नगरपालिकाले समयमै अनुगमन गर्नु पर्ने बताउनुभयो । नगरपालिकाले आचारसंहिता अनुसार घर बनेको छ या छैन त्यसको अनुगमनलाई प्रभावकारी बनाए घरधनी पनि सचेत भएर आचारसंहिता अनुसार घर निर्माण गर्ने बताउनुभयो । साथै उहाँले नगर भित्र रहेका अगुवा मजदुरहरुलाई सुचिकृत गरेर करको दायरामा ल्याउनु पर्ने भन्दै मजदुरको समस्यामा अविभावकिय भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

यस्तै रानीमहल ईन्जिनियरिङ कन्सल्टेन्सीका संचालक महेश कुँवरले नक्सा पास प्रक्रिया झनझटिलो रहेकाले धेरैले अभिलेखिकरण गर्ने गरेको भन्दै सुरक्षित आवास निर्माणका लागि तिनै क्षेत्रको क्रियाशिलताको खाँचो रहेको बताउनुभयो । रामपुर नगरपालिकाका ईन्जिनियर कृष्ण बहादुर थापाले नक्सा अनुसारको घर निर्माण नगरेर अभिलेखिकरण लिनेको संख्या बढि रहेको भन्दै मजदुरहरु घरधनी संग बढि घुलमिल हुने भएकाले आचारसंहिता , सुरक्षा लगाएतका विषयमा बुझाउन जरुरी रहेको बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका घर नक्सा शाखाका प्राविधिक शंकर कंडेलले निर्माण व्यवसायी विच घर निर्माणको दर रेटमा एक रुपता नहुँदा पनि कमसल संरचना निर्माण भईरहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका भित्रका अगुवा मजदुर , ईन्जिनियरिङ कन्सल्टेन्सी , नगरपालिकाका प्राविधिक कर्मचारी , जनप्रतिनिधि लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?