पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाले निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर खाना खुवाएर स्थापना दिवस मनाएको छ । प्रजातन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवस पाल्पाको तानसेन स्थित आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिहरुलाई खाना खुवाएर दिवस मनाएको हो ।
आश्रममा रहेका २२ जना असहाय, बेसहारा तथा वृद्धवृद्धाहरुलाई शनिबार विहान एक छाक भोजन गराएको हो । स्थापना दिवस मनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका थिए । असहाय, बेसहारा, वृद्धहरुसँग मायाँ र सद्भाव साट्ने उद्देश्यले आश्रममै पुगेर स्थापना दिवस मनाइएको नेपाल प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरेले बताउनुभयो । जिल्लाको टिमसँगै आश्रममा पुग्नु भएका प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले लोकतन्त्र, गणतन्त्र, संघीय व्यवस्था ल्याउनमा युनियनको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै विपन्न, असहाय, अशक्तहरुको पक्षमा समेत युनियनमा आवद्ध पत्रकारहरुले सशक्त रुपमा कलम चलाउँदै आएको बताउनुभयो । युनियनका निवर्तमान जिल्ला अध्यक्ष भरत शर्माले आफुु नेतृत्वमा हुुँदा युनियनको स्थापना दिवस अश्रममै मनाएको स्मरण गर्दै नयाँ नेतृत्वले समेत आश्रममा रहेका वृद्धवृद्धा आमाबुवाहरुप्रति सद्भाव देखाएकोमा खुसी व्यक्त गर्नुभयो ।
युनियनका उपाध्यक्ष रामचन्द्र रायमाझीले श्रमिक, असहाय, अशक्त र वृद्धवृद्धाहरुको पक्षमा सधै युनियनका पत्रकारले कलम चलाउँदै आएको बताउनुभयो । निलसागर आश्रमका संयोजक देव प्रसाद बज्राचार्यले पत्रकारहरुले आश्रममा रहेका नागरिकहरुप्रति देखाएको माया, दया करुण र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिनुभयो । सहयोगी दाताहरुको सहयोगमा आश्रम सञ्चालन हुँदै आएको बताउनुभयो । तानसेन नगरपालिकाका प्रेस सल्लाहकार मुक्ति न्यौपानेले तानसेन नगर सरकारले आर्थिक वर्षको बजेटमा आश्रमको व्यवस्थापनको विषय समावेश गरेको बताउनुभयो । औपचारिक कार्यक्रम युनियनका सभापति मन गहिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णुु प्रसाद घिमिरेले गर्नु भएको हो । श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणका लागि २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना भएको थियो ।