पाल्पा, निस्दी गाउँपालिका वडा नं. ४ द्वार्घामा डढेलोले खानेपानीको पाईप जलेपछि खानेपानीको समस्या भएको छ । गत बैशाख १३ गते मोलो गैरा सामुदायिक वनमा लागेको आगोले पाईप जले पछि समस्या भएको हो । द्वार्घाको सोमै थर र थाम थरमा रहेका १० घर परिवारलाई पानीको समस्या भएको छ । निस्दी ४ झ्याल्टुङ्गको मुहान बाट ल्याएको पानी स्थानीयले वषौं देखि पिउँदै आएका थिए ।
स्थानीय तिल बहादुर सुनारीका अनुसार मोलो गैरा सामुदायिक वन क्षेत्र भित्रको २ सय ५० मिटर पाईप जले पछि पानीको समस्या भएको हो । उहाँले भन्नुभयो, “जंगलमा रहेको पाईप मध्ये सडक निर्माणको क्रममा केही पाईप जमिन वाहिर निकालिएको थियो । त्यस मध्ये साढे २ सय मिटर पाईप जलेको छ ।” गाउँमा लिफ्टीङ्ग बाट खानेपानी तानिए पनि घाम लाग्दा पानी आउने र अन्य समय बन्द हुँदा समस्या भएको स्थानीय मञ्जु सारुले बताउनुभयो ।

प्रयोग गर्दै आएको पानीको पाईप जले पछि स्थानीयले पँधेरा बाट पानी बोक्नु पर्ने अवस्था आएको छ । थाम टोलका स्थानीयले पानी बोक्नको लागि झण्डै आधा घण्टा समय खर्चिनु पर्ने अवस्था आएको छ ।