पाल्पा, जिल्लाको निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलाहरुको लागि प्रोत्साहन पुरस्कार प्रदान गर्ने भएको छ । बालमैत्री गाउँपालिका घोषणाका लागि अभियान संञ्चालन गर्दै आएको पालिकाले बालविवाह न्यूनिकरणका लागि प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न लागेको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९ साउन १ देखि बैशाख ३१ गते सम्म निस्दी गाउँपालिका भित्र स्थायी बसोबास गरिरहेका कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलाहरुलाई प्रोत्साहन पुरस्कार दिन लागेको हो । गाउँपालिका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले बालविवाह न्यूनिकरण तथा महिलाहरुलाई शिक्षा तर्फ उत्प्रेरित गर्नका लागि प्रोत्साहन पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महिला लक्ष्यित कार्यक्रमका लागि विनियोजित बजेट मार्फत बालविवाह न्यूनिकरण गर्न तथा शिक्षामा प्रोत्साहन गर्न कार्यक्रम गर्न लागिएको हो । बालमैत्री गाउँपालिका घोषणाको कार्यक्रमलाई टेवा दिने यस कार्यक्रमको उद्देश्य हो ।” उहाँले निवेदन संकलन भैसकेको र छिट्टै मिति तय गरी पुरस्कार प्रदान गरिने बताउनुभयो । प्रोत्साहन पुरस्कार नगद सहित प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा सहभागीताका लागि गत जेठ ११ देखि १७ गते सम्म आवश्यक कागज पत्रहरु सहित निवेदन आह्वान गरेको थियो । प्रोत्साहन पुरस्कारका लागि नेपाली नागरिकताको प्रमाण पत्र, कक्षा १२ उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र, विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि र बैंक खाता नं. निस्दी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र सम्बन्धित वडा मार्फत निवेदन पेश गर्न अनुरोध गरेको थियो । निस्दी गाउँपालिकाले यस अघि गाउँपालिका भित्रका स्नातकोत्तर उत्तीर्ण महिलाहरलाई नगद सहित सम्मान गरेको थियो । बालमैत्री पालिका घोषणाको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पालिकाले अहिले यस कार्यक्रम गर्न लागेको हो ।