सत्यवती जिप दुर्घटना अपडेट : उपचारको क्रममा थप एकको मृत्यु

पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती केवँरेछेडामा आइतबार भएको जिप दुर्घटनामा घाईते भएका मध्ये थप एक जनाको मृत्यु भएको छ । घाईते मध्ये अर्घखाँची पाणीनि १ का ४४ वर्षिय बिजय पोख्रेलको आज विहान उपचारको क्रममा निधन भएको हो ।

पोखरेलको बुटवल स्थित चौराहा अस्पतालमा विहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । यस संगै मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेहरुमा अर्घखाँचीको पाणीनि गाउँपालिका १ पडेना अर्घखाँची बस्ने चालक २६ वर्षिय रमेश वि.क., पाणीनी १ का ५५ वर्षिय स्यामकला परियार, पाणीनि गाउँपालिका (२ पोखराथोकका २५ वर्षिय सीता गौतम र सोही स्थानका २ वर्षिय बालक संयोग गौतमको मृत्यु भएको थियो। संयोगको उपचारको क्रममा निधन भएको हो । अन्य १० जना घाईते भएका छन् ।

घाईतेहरुको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल, चौराहा अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । रुपन्देहीको सालझण्डी बाट अर्घाखाँची तर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको बोलेरो जिप सत्यवतीको केवँरेछेडामा आइतबार साँझ साढे ५ बजे दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त जिप सडकदेखि करिब ७० मिटर तल खसेको छ । घटनाको विषयमा अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?