भारतिय पर्यटक बोकेको कार रानीमहल नजिकै दुर्घटना हुँदा ३ जना घाईते

पाल्पा, भारतीय पर्यटक बोकेको कार पाल्पाको रानीमहल नजिकै दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । तानसेन रानीमहल सडक खण्ड अन्तर्गत तानसेन १३ रानीमहल नजिकै युपी ५५ वाइ ३३०१ नम्बरको कार दुर्घटना भएको थियो ।

कारमा सवार ४ जना मध्ये ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईते हुनेहरुमा रुपन्देहीका ५० वर्षिय बुद्धिराम मुराउ, भारत उत्तर प्रदेश ढडेपुरका ६० वर्षिय कृष्ण नारायण तिवारी, भारत उत्तर प्रदेश ककरहवाका ५२ वर्षिय विरेन्द्र पान्डेय रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

घाईते मध्ये मुराउको अवस्था गम्भीर रहेको छ भने बाँकी २ को अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपचारको लागि युनाईटेड मिसन अस्पताल तानसेन पठाईएको छ । कार आज दिउँसो ३ः४० मा अनियन्त्रित भई सडक बाट अन्दाजी १०० मिटर तल खसेको छ । दुर्घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?