पाल्पा, लामो समयको खडेरीले मकै लगाएतका बालीनाली सुक्न थालेपछि रामपुरमा स्थानीयले पञ्चे बाजा सहित पूजा गरी पानी मागेका छन् । रामपुर नगरपालिका–६ गैटार स्थित अकला कालिका दुर्गा मन्दिरमा रुद्री लगाएर भगवान इन्द्रको पुजा गरी पानी मागेका हुन् ।
विहान देखि दिउँसो सम्म मन्दिरमा पुजा आरधना गरी पन्चेबाजा बजाउँदै, नाच्दै, गाउदै कालीगण्डकी नदी किनार परेवाघाटमा पुगेर फूलपाती सेलाएर पश्चात पानी छेपाछेप गर्दै पानी मागेका थिए । पण्डितहरुको उपस्थितिमा भएको इन्द्रको पूजामा ३ सय घरपरिवारको सहभागीता रहेको थियो । खडेरीले बालीनाली सुक्न थाले पछि स्थानीयबासीको सल्लाहमा परम्परा देखि चलि आएको विधि अनुसार भगवान इन्द्रको पूजा गरिएको अकला कालिका मन्दिर व्यवस्थापन समिती अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो ।
समितिका उपाध्यक्ष ज्ञान प्रसाद ढकालले खडेरीले गर्दा मकै बाली सुकेर विजोग भएको र प्रति परिवार दान संकलन गरी पूजा गरिएको बताउनुभयो । विहानै देखि भगवान इन्द्रको पूजा र रुद्री गरी पञ्चे बाजा सहित कालीगण्डकीमा फूल सेलाएर पानी मागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सिंचाईको लागि नहर भए पनि पानी नचल्दा समस्या भयो । मकैहरु सुक्न थाल्यो । त्यसैले भगवान संग गुहार गर्नुको विकल्प हामी संग भएन ।” रामपुर ६ गैटारका स्थानीय ८४ वर्षिय लोकनाथ खनालले विगतमा पनि लामो समय पानी नपर्दा रुद्री लगाउने, इन्द्रको पूजा गर्ने गर्दै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगत देखि नै पानी नपर्दा रुद्री लगाउने, इन्द्रको पूजा गर्ने गर्दै आएका छौं । अहिले पनि आउँछ भन्ने विश्वास छ । पूजा गरेपछि २४ घण्टा भित्र पानी पर्ने गरेको छ । हेरौं इन्द्र कै भरोसा हो ।”
मन्दिरका पुजारी भिमलाल खनालले धेरै खडेरी परेको समयमा मन्दिरमा पुजा गरी गण्डकीमा पुगेर पानी माग्दै आएको बताउँदै त्यस पश्चात २, ३ घण्टा वा २४ घण्टाभित्र पानी पर्ने गरेको स्मरण गराउनुभयो । कालीनदी परेवाघाट क्षेत्रबाट नै मन्दिरमा मुर्ति लगेर पुजा गरिरहेको र त्यही मन्दिरमा पुजा गरी मुर्ति लगेकै स्थानमा फूलपाती सेलाएर नुहाउने कार्य गर्दा विगतका बर्षमा पनि पानी परेको विश्वासले इन्द्र भगवानको पुजा तथा रुद्री पुजा हुँदै आएको छ । मन्दिरमा पुजा संगै जम्मा भएका स्थानीयले पञ्चे बाजाको तालमा नाच्दै पानी छ्यापी रहेका थिए । त्यस पश्चात पुजाको फूलपाती सहितको डोली मन्दिर परिक्रम गराई पञ्चेबाजा सहित परेवाघाट लगिएको थियो । फूलपाती सेलाए पश्चात नदीका पुगेका स्थानीयले पानी छेपाछेप गर्दै पानी मागेका थिए । २०३६ सालमा स्थापना भएको मन्दिरमा नियमित पाठपुजा आरधना तथा कुनै पर्व विशेषमा मेला समेत लाग्ने गर्दछ ।