रामपुरमा भण्डारण गरी राखिएको ६ सय ५० बोरा बढी भारतीय रासायनिक मल फेला

पाल्पा, पाल्पाको रामपुरमा भण्डारण गरी राखिएको ६ सय ५० बोरा बढी भारतीय रासायनिक मल फेला परेको छ ।  रम्भा १ हुँगीमा रामपुर ल्याउँदै गरेको रासायनिक मल प्रहरीले नियन्त्रणमा लिए संगै अनुगमन गर्ने क्रममा रामपुर नगरपालिका–५, बेझाँडमा भण्डारण गरेर राखिएको अवस्थामा मल फेला परेको हो ।

शनिबार विहान हुँगी प्रहरी चौकीले लु २ ख ३८१ नम्बरको ट्रकमा चामल भनेर मल ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस पश्चात रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समिति र प्रहरीले अनुगमन गर्ने क्रममा मल फेला पारेको हो । केही दिन अघि देखि रामपुर ५ बेझाँड स्थित गणेश मानन्धरको घरमा भाडामा सटर लिएर मल भण्डारण गरेको अवस्थामा प्रधानमंत्री भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक रासायनिक मल ठूलो मात्रामा भेटिएको थियो ।

ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले आशंका लागेको स्थानमा अनुगमन गर्ने क्रममा भण्डारण गरेर राखिएको पाईएको जानकारी दिनुभयो । सम्बन्धित व्यक्तिलाई नभेटे पछि ताला काटेर हेर्दा ६ सय ५० बोरा बढी मल फेला परेको बताउनुभयो । त्यस पश्चात जनप्रतिनिहरु त्था सरोकारवालाहरुको रहोवरमा सो कोठालाई शिल गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बेझाँडमा फेला परेको मल आधिकारिक हो वा होईन भन्ने थाहा नभएकाले अहिलेलाई शिल गरेर राखिएको जानकारी दिदै कसरी आएको हो भन्ने पत्ता लगाएर कार्वाही प्रक्रिया अघि बढाउने बताउनुभयो । ट्रक सहित नियन्त्रणमा लिएको मल अनुसन्धानको लागि भन्सार कार्यालय पठाईएको बताउनुभयो । रासायनिक मल, त्यसका बिल, आयात गर्ने व्यापारी लगायतका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ट्रकले पहिले चामलको बिल देखाएको र पछि अनुसन्धान गर्दै गर्दा युरियाको बिल फेला परेको थियो । तर विलमा भने क्रेता र पान नं. फरक फरक व्यक्तिको रहेको स्रोतले जनाएको छ । रामपुरमा ठूलो परिमाणमा भारतिय मल भित्रियको आशंका पश्चात मल विक्री गर्ने विभिन्न सहकारीहरुको पनि अनुगमन गरिएको थियो । अनुगमनमा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डे, रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल सहित प्रहरी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?