एन्टिबायोटिक प्रिस्क्रिपसन तथा स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम रामपुर पाल्पामा सम्पन्न

पाल्पा , रामपुर नगरपालिका भित्र सञ्चालित क्लिनिक तथा पारामेडिक्स कर्मचारीहरुका लागि एन्टिबायोटिक प्रिस्क्रिपसन तथा स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ ।

रामपुर नगरपालिकाको आयोजनामा नगर भित्र सञ्चालित स्वास्थ्य संस्था र स्वाथ्य शाखाका कर्मचारीहरुका लागि एन्टिबायोटिकको प्रयोग र अन्य विभिन्न स्वास्थ्य सम्बन्धि अभिमुखिकरण प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले स्वस्थ नागरिक र स्वस्थ नगर निर्माणका लागि नगरपालिकाले शिक्षा र स्वास्थ्यमा लगानी गर्ने बताउनु भएको छ । उहाँले नगरपालिका भित्र रहेको अस्पताल मार्फत सबै सेवा प्रदान गर्नका लागि लागीपरेको बताउनुभयो । नगर उपप्रमुख थापाले नगर भित्रै रिफर गर्न नपर्ने गरि स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाले विषेश पहल गरिरहेको जानकारी दिनुभयो । साथै नगरमा सञ्चालित स्वस्थ्य संस्था तथा क्लिनिकहरुले पनि नागरबासीलाई गुणस्तरिय स्वास्थ्य सेवा दिन आग्रह गर्नुभयो । नगरपालिका भित्र सञ्चालनमा रहेका सबै स्वास्थ्य संस्था दर्ता प्रक्रियामा आउनु पर्ने समेत बताउनुभयो ।

यस्तै लुम्बिनी मेडिकल कलेज प्रभासका नसा तथा मनरोग विशेषज्ञ डाक्टर राजेश श्रेष्ठले नगर भित्रै गुणस्तरीय  विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । यसका लागि सबै सरकारी र निजि क्षेत्र सरोकारवाला सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । यस्तै रामपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर विजय परियारले अस्पतालमा विशेषज्ञ सहितको सेवा सञ्चालन गर्नका लागि पहल भई रहेको भन्दै सरकारी मात्र नभई निजी स्वास्थ्य संस्थाले पनि जनताको विश्वास जितेर सेवा प्रदान गर्नु पर्ने बताउनुभयो ।

यस्तै गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले नगरबासीको स्वास्थ्य कस्तो बनाउने भन्ने विषय निजि र सरकारी स्वास्थ्य संस्थाहरुको हातमा रहेको बताउनुभयो । साथै कुनै पनि हेलचेक्रयाँई नगरि मानविय भावनाका साथ स्वास्थ्य सेवा दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्वी पाल्पा औषधी व्यवसायी संघका अध्यक्ष निरज श्रेष्ठले नगरभित्र सञ्चालनमा रहेका सबै निजि स्वास्थ्य क्लिनिकलाई वर्गिकरण गरेर सुचिकृत गर्नु पर्ने बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रममा नसा तथा मनरोग विशेषज्ञ डाक्टर राजेश श्रेष्ठ , रामपुर अस्पतालका मेसु डाक्टर विजय परियार , डाक्टर शंकर श्रेष्ठ , डाक्टर प्रतिक्षा श्रेष्ठले एन्टिबायोटिकको प्रयोग , यसको दीर्घकालिन असर , विरामीलाई बुझाउनु पर्ने कुरा लगाएतका विषयमा जानकारी गराउनु भएको थियो । रामपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने संचालन स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नु भएको थियो ।

कार्यक्रममा नगरभित्रका सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी , निजि स्वास्थ्य क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले स्थानीय तह र निजि क्षेत्रका स्वास्थ्य क्लिनिकहरुको सहकार्यमा नोभेम्बर १८ देखि २९ सम्म एन्टिबायोटिक सम्बन्धि समुदाय स्तरिय जनचेतनामूलक कार्यक्रम गर्ने , प्रत्येक ३ महिनामा उपचार गरेको रिर्पोट नगरपालिकालाई बुझाउने , सबै क्लिनिक नगरपालिकामा दर्ता गर्न सहजिकरण गर्ने लगाएतका निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?