शिक्षकहरुका लागि रामपुर नगरपालिकाकाे उत्प्रेरणा कार्यक्रम


पाल्पा , प्राथमिक विद्यालयका शिक्षकहरुका लागि एक दिने उत्प्रेरणा कार्यक्रम रामपुर नगरपालिकामा शनिबार सम्पन्न भएको छ ।

रामपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा मुख्यमन्त्रि शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्राथमिक विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरुको लागि उत्प्रेरणा प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कक्षाको शिक्षा र सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्नु भएको छ । विद्यालयमा प्रदान गरिने शिक्षामा सैद्धान्तिक सहित व्यवहारिक शिक्षा हुन जरुरी रहेको बताउनुभयो । उहाँले विद्यालयमा अध्यापन गराँउदा हरेक शिक्षकले विद्यार्थीको चहानालाई बुझेर अध्यापन गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले शैक्षिक विकास नभई भौतिक निर्माणले मात्र विकास सम्भव नभएको औँल्याउनुभयो । जब सम्म मानिसको मष्तिस्कको विकास हुँदैन तब सम्म अन्य विकासको कुनै महत्व नहुने भन्दै शैक्षिक क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । न्यू श्रीनगर होटल रामपुर वेझाँडमा भएको कार्यक्रममा रामपुर नगरपालिका नगर शिक्षा अधिकृत विकल काफ्लेले विद्यालय शिक्षणलाई प्रभावकारी बनाउनका शिक्षण विधिको महत्व बढि हुने भएकाले सिर्जनात्मक शैलि मार्फत कक्षा शिक्षण गराउन आग्रह गर्नुभयो । साथै विद्यार्थीहरुको मनोभावना अनुसार सही कक्षा शिक्षण गर्नु पर्ने बताउनुभयो ।

रामपुर नगरपालिका भित्रका प्राथमिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको सहभागिता रहेको उत्प्रेरणा कार्यक्रममा प्रशिक्षक गोविन्द प्रसाद भट्टराईले कक्षा शिक्षणलाई कसरी प्रभावकारी बनाउने , शिक्षण विधि लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो । रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरले गर्नु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?