रामपुरमा भेटिएको रासायनिक मल राजश्व अनुसन्धान कार्यालय बुटवलको नियन्त्रणमा

पाल्पा, पाल्पाको रामपुरमा फेला परेको भारतीय कम्पनीको ६ सय ४९ बोरा रासायनिक मल राजश्व अनुसन्धान कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । गत शनिबार ३ सय ७२ बोरा रासायनिक मल रामपुर ल्याउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा पुन : रामपुर नगरपालिका–५, बेझाँडमा भण्डारण गरेर राखिएको अवस्थामा मल फेला परेको थियो ।

विल तथा कागज पत्र र सम्बन्धीत व्यक्ति फेला नपरेपछि कार्यालयले अनुसन्धानको लागि मल नियन्त्रणमा लिएको हो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ताहित संरक्षण समिति र प्रहरीले अनुगमन गर्ने क्रममा रामपुर–५, बेझाँडका विजय मानन्धरको घरमा सटर भाडामा सटर लिएर मल भण्डारण गरी राखेको भेटिएको थियो । जनप्रतिनिधि तथा सरोकारवालाको रोहवरमा अनगुमन टोलीले मल भण्डारण गरेको कोठालाई शिल गरेको थियो ।

सोमबार राजश्व अनुसन्धान अधिकृत सहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरिक्षक सहितको टोली आए संगै रामपुर नगरपालिका जनप्रतिनिधि, रामपुर उद्योग वाणिज्य संघ र प्रहरीको उपस्थितिमा शिल खोलिएको थियो । शिल खोलेर मल राजश्व अनुसन्धान कार्यालयले बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक रासायनिक मल भण्डारण गरिएको स्थान बाट प्रति बोरा ४५ केजीको ६ सय ४९ बोरा भेटिएको उहाँले बताउनुभयो । हुँगीबाट नियन्त्रणमा लिईएको मल अनुसन्धानको लागि भन्सार कार्यालय पठाईएकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?